रेशम चौधरीको गिरफ्तारीले लोकतन्त्रमा चोट पुग्यो : अध्यक्ष रञ्जिता श्रेष्ठ

काठमाडौं ,  २३ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका नेता रेशम चौधरीको गिरफ्तारीले लोकतन्त्र, संघीयता र समावेशिताप्रति जनविश्वासमा गम्भीर चोट पुगेको बताएकी छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष श्रेष्ठले एक जना सरकारी कर्मचारीको गल्तीका कारण कसैले दुःख पाउनु गम्भीर विषय भएको बताउँदै भनिन्, “यहाँ केवल एक जनाको गिरफ्तारी होइन, संघीयता, समावेशिता र लोकतन्त्र प्रतिको विश्वासमा चोट लागेको छ ।”

वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच पार्टी एकीकरणको घोषणा कार्यक्रमका क्रममा रेशम चौधरी पक्राउ परेका थिए । उनी प्रज्ञा भवनमा आयोजित औपचारिक कार्यक्रममै सहभागी भइरहेका बेला पक्राउ परेका थिए । तर पछि सर्वोच्च अदालतबाट जारी भएको भनिएको पक्राउ पुर्जी नै फर्जी रहेको थाहा भएपछि रेशम चौधरी रिहा भएका थिए । चौधरीले सो क्रममा डिल्लीबजार कारागारमा पाँच घण्टा बिताउनु परेको थियो ।

सत्तापक्षमै रहेका आफूहरूले पनि लोकतन्त्रमा रहँदा प्रश्न उठाउन पाउने अधिकार हुनुपर्ने श्रेष्ठको भनाइ थियो । “जो जहाँ भए पनि प्रश्न गर्न पाउनु लोकतन्त्र हो । प्रश्न गरेकै आधारमा नभएर तथ्यका आधारमा व्यवहार हुनुपर्छ,” उनले भनिन् । श्रेष्ठले रेशम चौधरीको गिरफ्तारीबारे सरकारबाट सार्वजनिक रूपमा जवाफ दिन माग गरिन् । “वैशाख १७ गतेको घटनाको निष्पक्ष छानबिन होस्, सरकारले जवाफ देओस्,” उनले संसद्को रोस्ट्रमबाट माग गरिन् ।–00–

Share:

सम्बन्धित समाचारहरु