धनुषामा एमाले अधिवेशन तनावग्रस्त, दुई समूहबीच कुटाकुट

जनकपुरधाम, २३ वैशाख । नेकपा एमाले धनुषाको जिल्ला अधिवेशन तनावग्रस्त बनेको छ । शनिबार सम्पन्न हुने भनिएको अधिवेशनमा उम्मेदवारीलाई लिएर उत्पन्न विवादले झडपको रुप लिएको छ ।

अधिवेशनस्थलमा दुई समूहबीच कुटाकुट भएको छ भने कुर्सीसमेत तोडफोड गरिएको छ । उम्मेदवार चयनमा विधानविपरीत प्रक्रिया अपनाइएको भन्दै विरोध भएको हो । यसै कारण मतदान प्रक्रिया हालका लागि रोकिएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।

अध्यक्ष पदका उम्मेदवार लक्ष्मीनारायण यादवले विधानविपरीत उम्मेदवारी खारेज नगरेकोप्रति असन्तुष्टि जनाउँदै निर्वाचन समितिमाथि निष्पक्षता नदेखाएको आरोप लगाएका छन् । उनका अनुसार उपसचिवमा उम्मेदवारी दिएका रुकाकुमारी मिश्र र लेखा समिति अध्यक्षका उम्मेदवार वीरेन्द्रलाल कर्णको उम्मेदवारी पार्टी विधानअनुसार नपरेको दाबी गरेका छन् ।

विवाद चुलिँदै गएपछि यादवसहितको समूह अहिले अधिवेशन हलमै धर्नामा बसेको छ । उनीहरूले निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न माग गर्दै दबाब सिर्जना गरेका छन् । धनुषामा एमाले सचिव रघुवीर महासेठ नेतृत्वको समूह तथा मधेश प्रदेश सभामुख रामचन्द्र मण्डल, केन्द्रीय सदस्य उमाशंकर अरगरिया र संजीव झा ‘सुरज’को समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

दुवै पक्षले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् । मण्डल समूहले महासेठ पक्षले निर्वाचनमा धाँधली गर्न खोजेको आरोप लगाएको छ । महासेठ पक्षबाट भोला यादवलाई अध्यक्षमा अघि सारिएको छ । आज बिहान ८ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका थियो । तर, तयारी नपुगेको भन्दै १० बजेसम्मका लागि सारिएको मतदान प्रक्रिया अहिले विवादकै कारण अनिश्चित बनेको छ ।–00—

Share:

सम्बन्धित समाचारहरु