कास्की २२,वैशाख । निर्माणाधीन पोखरा–मुग्लिङ राजमार्गको पश्चिम खण्डमा सडक मापदण्डभित्र परेका ४२४ वटा विद्युत् पोलमध्ये बाँकी रहेका सबै पोल एक साताभित्र हटाइने भएका छन्।
कास्की जिल्लामा मात्रै ३५५ वटा पोल हटाउन बाँकी छन्। यी पोलहरू विद्युत् प्राधिकरणको पोखरा र लेखनाथ वितरण क्षेत्र अन्तर्गत परेका हुन्।
राजमार्ग स्तरोन्नतिको क्रममा सडक क्षेत्रमा परेका पोल ढिलासुस्तीका कारण योजनाको काम प्रभावित भएपछि आइतबार कास्की जिल्ला प्रशासन कार्यालयको समन्वयमा सहजीकरण बैठक बसेको थियो। सो बैठकमा नेपाल विद्युत् प्राधिकरणले पोल हटाउने सहमति जनाएको मुग्लिङ–पोखरा सडक योजना (पश्चिम खण्ड)का प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए।
👉 प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट समेत चासो व्यक्त भएपछि सहजीकरण गरिएको बताइएको छ।
🔧 मुख्य बाधा हट्ने
“चार लेन सडकभित्र परेका पोल हटाउने काम प्राधिकरणले गरिरहेको छ। अब बाँकी रहेका सबै पोल पनि एक साताभित्र विस्थापन गरिने सहमति भएको छ। यसले योजनामा देखिएको मुख्य समस्या समाधान हुनेछ,” योजना प्रमुख कुँवरले भने।
🛣 अवरोध भएका खण्ड
-
सैनिकबस्ती–विश्वविद्यालय १८ पोल
-
आदर्शचोक–तालचोक ४९ पोल
👉 जम्मा ६७ पोलका कारण निर्माण प्रभावित -
डाँडाको नाकदेखि विजयपुरसम्म ९० पोल नालीभित्र परेका छन्।
📊 हालसम्मको प्रगति
-
राजमार्ग लम्बाइ (पश्चिम खण्ड): ४१ किमी (जामुने, तनहुँदेखि सेती पुल, पोखरा)
-
कालोपत्रे सम्पन्न: ३५.७ किमी एकतर्फी
-
भौतिक प्रगति: ५०.३४%
👉 १९ किमी खण्डमा दुईतर्फी (चार लेन)
👉 १६ किमी खण्डमा एकतर्फी (दुई लेन)
👉 लक्ष्य: आगामी असार मसान्तसम्म चार लेन निर्माण सम्पन्न गर्ने
योजनाको म्याद गत वर्ष सकिएको भए पनि एक वर्ष थप गरिएको छ। हालको म्याद आगामी पुस दोस्रो सातासम्म कायम छ।–00—


