निजगढ र कालिका नगरपालिकाबीच असल अभ्यास साटासाट कार्यक्रम सम्पन्न

निजगढ,१८ वैशाख  | निजगढ नगरपालिकामा कालिका नगरपालिकाको न्यायिक समिति र मेलमिलापकर्ताका लागि आयोजित ‘अवलोकन तथा असल अभ्यास साटासाट कार्यक्रम’ सम्पन्न भएको छ।

कार्यक्रममा पूर्वी नेपालका विभिन्न जिल्लामा अध्ययन भ्रमण गरी फर्किएको कालिका नगरपालिका टोलीले आफ्ना अनुभवहरू साझा गरेको हो। कार्यक्रमको अध्यक्षता निजगढ नगरपालिकाकी उपप्रमुख सोम माया थिङ्ग ले गर्नुभयो भने निजगढ नगरपालिका योजना शाखाका प्रमुख अजय उप्रेतीले अतिथिहरूलाई स्वागत गर्दै निजगढ नगरपालिकाको परिचय र कार्यक्रमको उद्देश्यबारे जानकारी दिनुभयो।

कालिका नगरपालिकाको तर्फबाट वरिष्ठ लेखा अधिकृत ऋषि प्रसाद कडुवालले कालिका नगरपालिकाको कार्यप्रणाली, न्यायिक समिति र मेलमिलापको अभ्यासबारे प्रस्तुतिकरण गर्नुभयो। कार्यक्रममा कालिकाबाट आएको भ्रमण टोलीलाई खादा लगाई स्वागत गरिएको थियो।

अन्तरक्रियात्मक सत्रमा कालिका नगरपालिकाकी उप-प्रमुख बिमला तामाङले न्यायिक समितिको ईजलास, मेलमिलाप प्रक्रियाहरू तथा समग्र बस्तुस्थिति सम्बन्धी जानकारी प्रस्तुत गर्नुभयो। उनले स्थानीय तहमा मेलमिलाप संस्कृति विकास गर्नु जरुरी रहेको बताउँदै निजगढसँगको अभ्यास साटासाटले दुवै पक्षलाई लाभ पुगेको धारणा राखिन्।

कार्यक्रमका अन्त्यमा निजगढ नगरपालिकाकी उपप्रमुख सोम माया थिङ्गले समापन मन्तव्य दिँदै निजगढको न्यायिक क्षेत्रमा भइरहेको कार्यप्रगति, असल अभ्यासहरू र यस्ता अन्तरनगर अभ्यास आदान–प्रदान कार्यक्रमले सहकार्य र सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा उपहार आदान–प्रदान, न्यायिक समिति ईजलास अवलोकन लगायत विभिन्न गतिविधिहरू सम्पन्न भएका थिए।–0–

Share:

सम्बन्धित समाचारहरु