काठमाडौं, १८ बैशाख । मौसमविद्हरूले आगामी दुई दिनमा नेपालमा बदली र वर्षाको सम्भावना रहेको बताएका छन्। बंगालको खाडीबाट आएका प्रणालीहरू र पश्चिमी वायुको प्रभावले पानी पर्ने सम्भावना बढी रहेको जनाइएको छ।
हाल काठमाडौं उपत्यकासहित कोशी र मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा वर्षा भइरहेको छ। सिन्धुपाल्चोकमा एक घण्टामा २४.२ मिलिमिटर, मकवानपुरमा ११.४ मिलिमिटर, बाह्रबिसेमा ७ मिलिमिटर र भक्तपुरमा ५ मिलिमिटर वर्षा मापन गरिएको छ।
मौसमका अध्येता एवम् विपदविज्ञ डा. धर्मराज उप्रेतीका अनुसार, ‘अझै दुई–तीन दिनसम्म पानी पर्ने सम्भावना छ,’ र यसले देशभरि यस्तै अवस्था हुने सम्भावना रहेको बताएका छन्। केही स्थानमा हावाहुरीको अवस्था पनि हुनसक्ने जानकारी दिइएको छ।
जल तथा मौसम विज्ञान विभागको ताजा बुलेटिनमा पनि आगामी शुक्रबारसम्म पानी पर्ने सम्भावना रहेको उल्लेख छ।–00–


