रेशम चौधरीलाई थुनामुक्त गर्ने तयारी, सर्वोच्च अदालतले नयाँ पत्र पठाउने

काठमाण्डौं, १७ बैशाख ।  सर्वोच्च अदालतले पूर्वसांसद रेशम चौधरीलाई थुनामुक्त गर्ने तयारी गरेको छ।

चौधरीको कैद सम्बन्धी अघिल्लो आदेश कानुनसम्मत नदेखिएको भन्दै सर्वोच्च अदालतले नयाँ पत्र पठाउने तयारी थालेको हो। सर्वोच्च अदालतको उच्च स्रोतका अनुसार चौधरीको मुद्दा अझै विचाराधीन रहेको अवस्थामा एक शाखा अधिकृतबाट ‘शंकास्पद ढंगले’ कैदसम्बन्धी पत्र जारी गरिएको देखिएको छ। “मुद्दा विचाराधीन रहँदा शाखा अधिकृतबाट जारी भएको पत्रमाथि छानबिन भइरहेको छ। त्यस्तो अवस्थामा सो पत्रको वैधता मान्न सकिँदैन,” स्रोतले भन्यो, “अब उहाँलाई थुनामुक्त गर्ने पत्र जारी हुँदैछ।”

सर्वोच्च अदालतले यसबारे अनौपचारिक रूपमा महान्यायाधिवक्ताको कार्यालय र प्रहरी प्रशासनसँग पनि समन्वय गरिरहेको स्रोतले जानकारी दिएको छ।

रेशम चौधरीको विषयमा सर्वोच्चको आधिकारिक आदेश आउन बाँकी भए पनि यसबीचमा पुरानो प्रक्रियामाथि प्रश्न उठ्दै आएको छ। अदालतले नयाँ पत्रमार्फत प्रष्टता ल्याउने तयारी गरेको हो।–00–

Share:

सम्बन्धित समाचारहरु