जनकपुरधाम, १३ बैशाख । भाटभटेनी लुटपाट प्रकरणमा संसदमा दिएको अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेस आक्रोशित बनेको छ। कांग्रेसले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा दिएको अभिव्यक्तिलाई झुठो भन्दै धनुषाको लक्ष्मीनियाँमा उनको पुत्ला दहन गर्दै कडा कारबाहीको माग गरेको हो।
मधेस प्रदेशका सांसद कुमारकान्त झाको नेतृत्वमा कांग्रेस कार्यकर्ताहरूले जनकपुर-ढल्केबर सडक अवरुद्ध पार्दै विरोध प्रदर्शन गरेका थिए। पुत्ला दहन कार्यक्रमका क्रममा सांसद झाले संसदमा झुठा र भ्रामक अभिव्यक्ति दिँदै सहमहामन्त्री महेन्द्र यादवको छविमा आँच पुर्याएको भन्दै लिङ्देनमाथि कारबाहीको माग गरे।
लिङ्देनले संसदमा “भाटभटेनी लुटपाटमा कांग्रेसका एक सहमहामन्त्रीका छोरा पनि संलग्न थिए” भन्ने अभिव्यक्ति दिएका थिए। यद्यपि उनले कुनै नाम भने उल्लेख गरेका थिएनन्। तर सामाजिक सञ्जाल र केही मिडियामा उक्त आरोप महेन्द्र यादवका छोरा मुकेश यादवमाथि लगाइएको देखिएपछि कांग्रेस थप आक्रोशित बनेको हो।
कांग्रेस नेताहरूका अनुसार यादवका मुकेश नामक छोरा नै छैनन्। उनका दुई छोराहरू विकास र आकाश डाक्टर हुन् र हाल विदेशमा रहेका छन्। यथार्थविपरीत आरोप लगाउँदै सहमहामन्त्री यादवको चरित्र हत्या गर्न खोजिएको भन्दै कांग्रेस नेताहरूले कडा आपत्ति जनाएका छन्।
“झुठो अभिव्यक्ति दिएर लिङ्देनले गम्भीर राजनीतिक अशोभनीयता देखाएका छन्। यदि सरकारले उनलाई कानूनी दायरामा ल्याएन भने हामी चुप लागेर बस्दैनौं,” कांग्रेस नेताहरूको चेतावनी छ।–00–


