"अन्तिम दिन ‘उदय एण्ड झक्कास’लगायत तीन ब्याण्डको प्रस्तुति"

‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबल’ चितवनमा आज समापन हुँदै

चितवन २, बैशाख ।  नारायणगढको क्याम्पा चौरमा जारी ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबल’ आज समापन हुँदैछ। नेपाली युवा उद्यमी मञ्च चितवनको आयोजनामा नयाँ वर्ष २०८२ को अवसर पारेर चैत २९ गतेदेखि सुरु भएको यो महोत्सव आज सम्पन्न हुन लागेको हो।

हिजो (सोमबार) नयाँ वर्षको पहिलो दिन कन्सर्टमा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो। करिब आठ हजार दर्शक सहभागी रहेको उक्त कार्यक्रममा कलाकार स्वप्निल शर्माको ‘स्वर’ ब्याण्डले प्रस्तुति दिएको थियो।

आज अन्तिम दिन ‘उदय एण्ड झक्कास’, ‘अध्याय’ र ‘द इरेज’ जस्ता चर्चित ब्याण्डहरूको प्रस्तुति रहने जानकारी आयोजक अध्यक्ष उमेश श्रेष्ठले दिए। उनका अनुसार आज पनि साँझ ७ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने त्यसपछि प्रवेश शुल्क ३०० रुपैयाँ लागु हुनेछ।

आजै एक्स्पोमा सहभागी स्टार्टअप व्यवसायमध्येबाट एक उत्कृष्ट व्यवसाय छानिनेछ र त्यसलाई प्रोत्साहन स्वरुप ५० हजार रुपैयाँको पुरस्कार प्रदान गरिने श्रेष्ठले जानकारी दिए।

नेपाली उत्पादन तथा सेवाको प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित एक्स्पोमा कृषि, निर्माण सामग्री, प्रविधि, हस्तकला, परम्परागत कपडा, फुड एण्ड बेभरेज, ग्रीन इन्डस्ट्री, रियल स्टेट, टेक्नोलोजी तथा इनोभेसनजस्ता विभिन्न क्षेत्रका व्यवसायीहरूको सहभागिता रहेको थियो।

फुड फेस्टिबलमा थकाली, थारु, तामाङ, नेवारी, तराई लगायतका विविध परिकारहरूको स्वाद लिन सकिने व्यवस्था गरिएको थियो। बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म स्वदेशी वस्तु तथा सेवाको प्रदर्शनी र साँझ ६ बजेदेखि सांगीतिक कार्यक्रम सञ्चालन हुँदै आएको थियो।

कार्यक्रमका पूर्वअध्यक्ष निरञ्जन न्यौपानेका अनुसार एक्स्पोको मुख्य उद्देश्य स्वदेशी वस्तु तथा सेवाको प्रवद्र्धन, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु रहेको हो। यस्तै, उद्योगी व्यवसायीले भोगिरहेका समस्या र समाधानका उपायहरू खोज्न प्यानल छलफल पनि गरिएको थियो।

Share:

सम्बन्धित समाचारहरु