चितवन, १८ पौष । १५ औं चितवन महोत्सव पौष २५ गतेदेखि नारायणी नदी किनारमा आयोजनाहुने भएको छ । पर्यटन प्रर्वद्धनलाई प्राथमिकता दिइने महोत्सवको तयारी तीब्र पारिएको उद्योग बाणिज्य संघ चितवनले विहीवार पत्रकार सम्मेलनगरी जानकारी दिएको छ ।
‘चितवन लाई विविधता र समृद्धिको भूमिको रुपमा विकास गर्ने महोत्सवको लक्ष्य रहेको महोत्सव संयोजक सुमनकुमार श्रेष्ठले बताउनुभयो । चितवनका पर्यटकीय स्थलहरुसम्म जान र आउनको लागि सफारीको व्यवस्था, होमस्टेमा बसोबासको प्रबन्ध र पर्यटकीय स्थलहरुको वृत्तचित्र प्रस्तुतिलगायत कार्यक्रम अगाडि सारेका छौँ ’ – उहाँले भन्नुभयो ।
महोत्सवमा सात वटा विशेष स्टल, कृषि परिसर, अटो परिसर, निर्माण सामग्री व्यवसायीहरुसँगको सहकार्यमा निर्माण एक्स्पो, रेस्टुरेन्ट परिसर गरी ४ सय ३० वटा स्टल रहने छन् । ५ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको चितवन महोत्सवमा ३० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ ।
महोत्सवको प्रवेश शुल्क सर्वसाधारणलाई सय रुपैयाँ राखिएको छ भने विद्यार्थीहरुलाई सहुलियत दर ५० रुपैयाँ कायम गरिएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । विगतका महोत्सवबाट प्राप्त अनुभव, प्रदर्शक र अवलोकनकर्ताहरुको अनुरोधलाई मध्यनजर गरी यस वर्ष पाँच दिन थप गरिएको उहाँले बताउनुभयो । महोत्सव माघ १० गते सम्म चल्ने छ । दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने महोत्सवमा यो पटक रोर्वटको सहयोगवाट कार्यक्रम उद्घाटनगर्ने तयारी छ ।
महोत्सवमा कुन कुन कलाकारहरुको प्रस्तुती हुनेबारे भने सम्बन्धित कलाकारहरुसँग आवश्यक छलफल जारी भइरहेकाले अहिलेनै सार्वजनिक गर्न सकेनौं उहाँले भन्नुभयो यो पनि छिट्टै टुंगो लाग्नेछ ।—00—