ओभरस्पीड सवारी हाक्नेलाई ठाउँको ठाउँ कार्वाही

नारायणगढ–मुग्लिङ सडक क्षेत्रमा प्रहरीको सरप्राइज चेकजाँच अभियान सुरु

 

सेतो नेपाल

चितवन, २७ साउन । सवारी चालकले ओभरस्पीडमा गाडी चलाउनेगरेको गुनासो बढ्दै गएपछि  मुग्लिङ प्रहरीले नारायणगढ–मुग्लिङ सडकखण्डमा सरप्राइज चेकजाँच अभियान सुरु गरेको छ। यो सडकखण्ड दुर्घटनाजोखिम क्षेत्र हो, जहाँ सडक विस्तार र पुल निर्माणको काम चलिरहेको छ। पहिरो र ढुंगा खस्नेक्रम भइरहेको छ।

इलाका प्रहरी कार्यालय मुग्लिङका प्रमुख (प्रहरी निरीक्षक) निरला भण्डारीले आफैं सरप्राइज चेकजाँचमा खटिनुभएको छ। मुख्य राजमार्ग केन्द्रीत सरप्राइज चेकजाँच यो पहिलो पटक हो । यात्रुबाहक बस, मालबाहक सवारी साधन लगायत सार्वजनिक सवारी साधनलाई विशेष ध्यान दिइएको छ। ओभरस्पीड र चालकको व्यवहार, मनलाग्दी भाडा र यात्रुको नाम सूचीकरण गरिएको छ छैन चेक गरिनेछ।

अभियानको पहिलो दिन नै गोर्खाबाट नारायणगढ आउँदै गरेको एक बस चालकलाई ओभरस्पीड चलाएको आरोपमा कार्वाही गरिएको छ। यात्रुको गुनासोपछि बस चालकलाई कार्वाही गरिएको हो।

प्रहरी प्रमुख भण्डारीका अनुसार, यो अभियान बिहान, बेलुका, राति र मध्यरातमा पनि सञ्चालन हुनेछ। सार्वजनिक सवारी साधनमा यात्रागर्दा यात्रुले भोग्नुपरेको समस्या वा गुनासो भएमा १०० वा १०३ मा फोन गरेर जानकारी दिन सकिने व्यवस्था गरिएको छ। मापसे गरेर सवारी चलाएमा वा ओमरस्पीडगाडी हाकेमा उक्त नम्बरमा फोन गरेर जानकारी दिए तत्काल सम्बन्धित सवारी चालकलाई कार्वाही गरिने मुग्लिङ प्रहरी प्रमुख भण्डारीले बताउनुभयो ।

चेकजाँचका क्रममा चालकको कमजोरी लुकाउने वा बचाउने प्रयास नगर्न यात्रुहरुलाई उहाँले आग्रह गर्नुभयो । – प्रहरीले मात्रै चाहेर दुर्घटना न्यूनिकरण हुँदैन उहाँले भन्नुभयो – त्यसका लागि यात्रुहरुले पनि साथ दिनपर्यो -उहाँले भन्नुभयो ।

—00—

 

Share:

सम्बन्धित समाचारहरु