काठमाडौँ, २७ साउन । गायक प्रकाश तिमिल्सिना मृत भेटिएका छन् । जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार गायक तिमिल्सिना ललितपुर महानगरपालिका वडा नम्बर १८ स्थित आफ्नै कोठामा शनिबार राति मृत भेटिएका हुन् ।
प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले गायक तिमिल्सिनालाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको बताए । उनले भने, -बेहोस अवस्थामा हुनुहुन्छ भन्ने सूचना पाएपछि तत्कालै उहाँलाई अस्पताल पुर्याइए पनि चिकित्सकले – ‘ब्रट डेड’ घोषणा गरेका हुन् ।
एसपी सुवेदीका अनुसार अहिले पाटन अस्पतालमा तिमिल्सिनाको पोस्टमार्टम गर्ने तयारी भइरहेको छ ।’मृत्युको अन्य केही कारण भए पोस्टमार्टमबाट खुल्ला,’ एसपी सुवेदीले भने । पोस्टमार्टम सकिएपछि आजै तिमिल्सिनाको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
सुनसरी प्रकाशपुर स्थायी घर भएका प्रकाश तिमिल्सिना रियालिटी शो ‘नेपाली तारा’ बाट उदाएका गायक हुन् । बाल्यकालदेखि नै गीत गाउन थालेका उनले २०६६ सालमा ‘दिव्य दृष्टि एल्बम ल्याएका थिए । पछि कलेक्सन एल्बम ‘आरती ६६’ मा गाएको गीत ‘प्रिय तिम्रो सिउँदोमा…’ ले उनलाई राम्रै परिचय दियो चिनाउन थाल्यो । उनले कालिका र अन्नपूर्ण अवार्ड जिते । उनले २०६८ मा ‘प्रकाश’ एल्बम ल्याए । त्यसको ‘तिम्रै हातको सिन्दुर लाउँछु…’ ले पनि राम्रै चर्चा बटुल्यो । –00–


