सिमलताल पहिरोले बेपत्ता बसको खोजी कार्यजारी, हालसम्म २२ जनाको शव फेला, ८ जनाको सनाखत हुन बाँकी

चितवन, ४ साउन । सिमलताल स्थित त्रिशुली नदीमा खसेको बसमा सवार यात्रु मध्ये हालसम्म २२ जनाको शव फेला परेको छ ।

 

२२ जना मध्ये १४ जनाको सनाखत भएको र ८ जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो । पछिल्लोपटक नवलपरासीतर्फ नारायणी नदीमा दुई जनाको शव फेला परेको हो ।

 

यात्रुहरुको खोजी कार्य आज पनि घटनास्थल सिमलताल, त्रिशुली नदी, नारायणी नदीमा जारी छ । नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी गरी ५ सय जना सुरक्षाकर्मीले निरन्तर सोनार क्यामेरा, ¥याफटिङ बोट, मोटर बोट, गोताखोर र पैदलमार्फत खोजी कार्य गरेका छन् ।

शुक्रबार विहान ३ः३० बजेको समयमा खसेको पहिरोले विरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्सको बसलाई पहिरोले बगाएर त्रिशुली नदीमा खसेको थियो । ती दुवै बसमा गरी ६५ जना यात्रु सवार थिए ।

Share:

सम्बन्धित समाचारहरु