चितवन, ३१ असार । भारतको वाल्मीकि नहरमा आइतवार फेला परेका दुई वटा शवको पहिचान खुलेको छ । ती शव भरतपुर महानगरपालिका–२२ पदमपोखरी बस्ने २२ वर्षीय सुदिप विक र रौतहटको जमुनामाई–४ बस्ने १७ वर्षीय फिरोज राहुप मियाको भएको पुष्टि भएको चितवन प्रहरीले जानकारी दिएको छ ।
भरतपुर–२२ का सुदिप वीरगञ्जबाट काठमाडौँ जाँद्यै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बसमा सवार थिए भने रौतहटका मिया काठमाडौँबाट रुपन्देहीको गौर जाँदै गरेको प्रदेश०३–००१ख२४९५ नम्बरको बसमा सवार थिए । उनीहरुको शव पूर्वी नवलपरासीको विनयी त्रिवेणीबाट गएराति करिब २ बजेतिर चितवन ल्याइएको थियो ।
वाल्मीकि नहरमा अझै दुई वटा शव फेला परेका जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी वेदबहादुर पौडेलले बताए । ती शव आज झिकेर चितवन पठाइने उनले बताए । अहिले सम्म ११ वटा शव भेटिएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार ५ वटा शवको सनाखत भइसकेको छ भने ६ वटाको सनाखत हुन बाँकी छ ।
—00—


