कालिका, १८ असार । कालिका नगरपालिकाको वडा नं. ६ खोलेसिमल बजार स्थित विनोद सुनचाँदी पसल पसलकै संचालक विनोद सुनारकै योजनामा लुटपाट भएको रहस्य खुल्न आएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलन गरेर सुनचाँदी र हिराका विभिन्न डिजाईनका गरगहनाहरु पसल संचालककै योजना अनुसार लुटपाटगर्ने योजना बनाई बीमा रकम ठगी तथा विभिन्न व्यक्तिहरुवाट लिएको ऋण रकमहरु चोरी भएको देखाइ जालसाजी गरी फाईदा लिने मनसायले गरिएको बताएको छ । प्रहरीले विनोद सुनचाँदी पसलका संचालकनै घटनाका मुख्य योजनाकार भनेको छ ।
प्रहरीले पसल संचालक विनोद सुनार सहित लुटपाटगर्ने योजनामा संलग्न पाँचजनालाई आज सार्वजनिक गरेको छ । प्रहरीले सार्वजनिक गरे अनुसार कालिका वडा नं. ७ बस्ने २५ वर्षका विजय विश्वकर्मा, तनहुँ म्याग्दे गाउँपालिका वडा नं. ७ बस्ने ५० वर्षका पुर्णवहादुर विश्वकर्मा, बारा जिल्ला निजगढ नगरपालिका वडा नं. ४ बस्ने वर्ष १८ का पवनकुमार पासवान र कालिका वडा नं. ६ घरभएकी ४२ वर्षकी अन्जना पुडासैनी के.सी रहेका छन् ।
लुटपाटको योजना बनाई लुकाई छिपाई राखेको ठाउँवाट प्रहरीले सुन चाँदीका गरगहना समेत बरामद गरी सार्वजनिक गरेको छ ।
नाटकिय शैलीमा लुटपाटगर्ने योजना बन्यो-
पसलका संचालक विनोद सुनारले लुटपाटका लागि पुर्ण वहादुर विश्वकर्मालाई कन्ट्रयाक दिएको थियो । पुर्णवहादुर विश्वकर्मा र पवनकुमार पासवानले राती ८ः२० बजेको समयमा मोटरसाईकलमा आइ लुटपाट गर्न थाले ।
पसलका म्यानेजर विजय विश्वकर्माले लुटपाटगर्न आउनेलाई आफैले सामानहरु लुटपाटगर्नमा सहयोग गरे । पुर्ण वहादुर विश्वकर्मा र पवन कुमार पासवानले लुटपाट गरेर लगेको सुन गरगहनाहरु लुकाउनका लागि विनोदले बताए बमोजिम अन्जना पुडासैनी के.सीलाई दिए । सामान त्यहाँ बुझाएर उनीहरु त्यहाँबाट निस्किए । घटनाको दुईदिनपछि अन्जनाको घरमा गई पसल संचालक विनोदले उक्त सुन गरगहना आफैले लिएर गए ।








—00—


