कोसी र गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाण्डौं, ६ असार ।

देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी, मधेस र वाग्मती प्रदेशका थोरै तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।

कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न विभागको आग्रह छ । दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले भनेको छ ।

गएराति सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा पनि वर्षा भएको छ । तर उक्त प्रदेशमा भएको वर्षा स्थानीय वायु र भारतको विहार आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रणालीका कारण भएको मौसमविद् पुडासैनी बताउँछन् ।

हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

Share:

सम्बन्धित समाचारहरु