कालिका नगरपालिकाको नीति तथा कार्यक्रम “ कालिकाको सान, विषादीमुक्त खानपान”

चितवन, ५ असार । आगामी आर्थिक वर्ष २०८१/०८२ मा विषादीमुक्त खानपानलाई कालिका नगरपालिकाले जोड दिने नीति लिएको छ । दोस्रो कार्यकालको पाँचौ नगरसभा मार्फत नगर प्रमुख विनोद रेग्मीले प्रस्तुतगर्नुभएको नीति तथा कार्यक्रममा “ कालिकाको सान, विषादीमुक्त खानपान” भन्ने नारा लिएर आफुपनि विषादी रहित खाने र अरुलाईपनि खुवाउने उल्लेख छ ।

रासायनिक मलको खपत क्रमश घटाउँदै प्राङ्गारिक मलको प्रयोगगरी खेतीगर्न किसानलाई प्रोत्साहित गरिने प्रस्तुत गरिएको नीतिमा भनिएको छ । अर्गानिक खेती प्रवद्र्धनगर्न प्राङ्गारिक मल, झोल मल र भर्मी कम्पोष्ट मल बनाई प्रयोगगर्ने किसानलार्य अनुदान तथा प्राविधिक सहायता प्रदान गरिनेमा जोड दिएको छ । यस्तै कृषि तथा पशुपालन सहकारीसँग साझेदारीगरी प्राङ्गारिक मल तथा किटनाषक उत्पादनगर्ने उद्योग स्थापना, विक्री वितरणगर्न सहकार्य गर्ने नीति तथा कार्यक्रम लिएको छ ।

बैंक, वित्तीय संस्था तथा सहकारीलाई अनिवार्य कृषि ऋण प्रवाहगर्न समन्वय गरिनेछ । नगर क्षेत्रभित्रका कृषि तथा बचत ऋण सहकारीलाई ५० प्रतिशत कृषि तथा उत्पादनमूलक उद्योगमा लगानीगर्नुपर्ने व्यवस्था गरिनेछ । यस्तै कृषि क्षेत्र विस्तार र लागत साझेदारीको आधारमा साना तथा मझौला सतहीसँगै भूमिगत सिंचाई प्रणाली विकास र बिस्तार गरिनेछ । कृषि प्रयोजनका लागि खनिएका बोरिङ्ग र सतही सिंचाईको मर्मत सम्भारमा आवश्यक सहयोग गरिनेछ ।

 

मापदण्डको आधारमा उत्कृष्ट किसान तथा पशुपालक छनौट गरी नगर कृषक सम्मान प्रदान गरिने समेत नीति तथा कार्यक्रममा भनिएको छ । पशुपन्छी रोगहरुको रोकथाम, नियन्त्रणगरी स्वच्छ उत्पादनमा जोड दिँदै पशुपन्छीलाई आवश्यकपर्ने खोप तथा औषधी उपकरणको व्यवस्था मिलाईनेछ ।

–00–

Share:

सम्बन्धित समाचारहरु