आँखाको उपचारका लागि भरतपुर जानुपर्दैनः मेयर रेग्मी

कालिकामा आँखा उपचार केन्द्र स्थापना

कालिका,३०जेठ । कालिका नगरपालिकामा आज(बुधवार)देखि आँखा उपचार केन्द्र संचालनमा आएको छ ।

कालिकाको वडा नं. ६ को कार्यालय परिसरसँगैको भवनलाई तत्कालका लागि आँखा उपचार केन्द्र बनाइएको छ । उपचार केन्द्रको आजै कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले उद्घाटनगर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले कालिका नगरपालिका क्षेत्रका नागरिकहरुले आँखा उपचारका लागि भरतपुर धाउन नपर्नेगरी उपचार केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो । आँखा उपचार केन्द्र स्थापनालाई आफुहरुको पाँचवर्षे कार्यकालको महत्वपूर्ण कामको रुपमा आफुहरुले लिएको बताउनुभयो ।

 

स्वास्थ्य, शिक्षा, खानेपानीलाई प्राथमिकता दिएर कामगर्दै आएका छौं उहाँले भन्नुभयो–“आँखाको उपचारका लागि भरतपुर धाउन पर्दैन । ” कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख रेग्मीले भरतपुर आँखा अस्पताल, नेत्रज्योती संघसँग सहकार्यगर्दै यो सेवालाई थप विस्तारगर्दै जाने स्पष्टपार्नुभयो । तत्कालका लागि सानो कोठावाट सेवा केन्द्र सुरु भएपनि निकटमै व्यस्थित भवनवाट विज्ञ सहितको सेवाका लागि आगामी वर्षको नीति तथा कार्यक्रममा समेटेर अगाडी बढ्ने उहाँले जानकारी दिनुभयो ।

अहिले पूर्ण रुपमा उपचार नभएपनि अधिकतम सेवा उपचार केन्द्रवाटदिनेगरी उपचार केन्द्र संचालनमा ल्याएको हो । उपचार केन्द्रवाट सम्भव नभएको अवस्थामा भरतपुर आँखा अस्पतालमा समेत रिफर गर्न सकिने व्यस्था मिलाइएको छ । यसवाट लाभ लिन कालिकाबासीलाई नगर प्रमुख रेग्मीले आग्रहगर्नुभयो । नगरपालिकाको तत्लोभेगवाट सेवा सुरुभएपनि माथिल्लो भेगका नागरिकहरुलाई सेवादिन केन्द्रले बेला बेला शिविर संचालन गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेत्रज्योती संघ, चितवनका सभापति जयराम श्रेष्ठले आँखाको शल्यक्रिया (अप्रेशन)बाहेक सबैखालको सेवा केन्द्रवाट पाइने जानकारी दिनुभयो । नागरिकलाई छिटो छरितोसेवा दिनका लागि आँखा उपचार केन्द्र स्थापना गरिएको उहाँले बताउनुभयो । आँखामा चोट लागेमा, आँखा विग्रीएमा भरतपुर जानुपर्दैन उहाँले भन्नुभयो–“तपाईहरुको घरछेउमा आँखा उपचार केन्द्र आएको छ यसवाट प्रशस्तै फाइदा लिनुहोला । नेत्रज्योती संघ, चितवनका सभापति जयराम श्रेष्ठका अनुसार चितवनको सातवटै पालिकामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । कालिकामा स्थापना भएको चितवनको यो अन्तिम उपचार केन्द्र हो ।

नवलपरासी, धादिङ, तनहुँ, सिन्धुली, सर्लाही, बारा, पर्साको ठोरी लगायतका क्षेत्रमा पनि छ आँखा उपचार केन्द्र संचालनमा ल्याइएको छ ।

कार्यक्रममा वडा नं.६ का वडा अध्यक्ष टिकाराम रेग्मीले विकासगर्ने क्रममा वडा नं. ६ मा उपचार केन्द्र स्थापना भएकोमा खुशी व्यक्त गर्नुभयो । शुभकामना मन्तव्यको क्रममा वडा अध्यक्ष रेग्मीले प्रारम्भिक चरणमा सीमित स्रोत साधनवाट उपचारसेवा सुरुभएपनि भविष्यमा यसले राम्रो र गुणस्तरिय सेवा प्रदानगर्नेगरी व्यस्थापन मिलाइने बताउनुभयो ।

नगर उपप्रमुख विमला तामाङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम सामाजिक विकास समिति संयोजक मकरमान श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको हो ।

—-00–

 

Share:

सम्बन्धित समाचारहरु