शालिन मृत्यु प्रकरण

एकता शिशु निकेतन स्कुलका प्रिन्सिपलसहित तीन जना धरौटीमा रिहा

चितवन, ६ चैत । एकता शिशु निकेतनको होस्टलमा मृत भेटिएकी शालिन पोखरेलको घटनामा पक्राउ परेका प्रिन्सिपलसहित तीन जना धरौटीमा रिहा भएका छन् ।

 

जिल्ला सरकारी वकिलको कार्यालय चितवनले जिल्ला अदालतमा दर्ता गरेको मुद्दामा अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो । आत्महत्या दुरूत्साहनको मुद्दामा सोमबार नसकिएको थुनछेक बहस आज सकिएर सो आदेश आएको छ । एकता शिशु निकेतनका प्रिन्सिपल बालहरि देवकोटा तीन लाख, शिक्षक किरणबहादुर अधिकारी र होस्टलका वार्डेन कमलप्रसाद शर्मा पाँच–पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।

 

गत फागुन १२ गते एकता शिशु निकेतनमा अध्ययनरत पोखरेल पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेपछि शालिनको परिवारले प्रहरीमा बलात्कारपछि हत्या गरेको किटानी जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा उनीहरु पक्राउ परेका थिए । तर, बालिकाको पोष्टमार्टम रिपोर्टमा हत्या नभएको पाइएको थियो ।–00–

 

Share:

सम्बन्धित समाचारहरु