चितवन, १९ फागुन । विद्यालयबाट घर फर्किने क्रममा चितवनको भरतपुरवाट एकक बालक बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नंं। १० एयरपोर्ट पछाडि रहेको ओमशान्ति एकेडेमी स्कुलको कक्षा ५ मा अध्ययनरत १३ वर्षीय निकेश बराल नाम गरेका बालक दिउँसो साढे १ बजे विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएका हुन् ।
पोखरा महानगरपालिका वडा नं। १३ घर भएका बालक निकेश गत वर्षदेखि चितवनको गीतानगरस्थित ठूलो बुवाको घरमा बसेर ओम शान्ति एकेडेमीमा पढ्दै आएका थिए ।
विद्यालयले शनिवार राखेको एक्स्ट्रा (अतिरिक्क्त) क्लास पढ्न भनेर भरतपुर ६ गीतानगरस्थित ठूलो बुवाको घरबाट म्याजिक भ्यान चढेर उनी विद्यालय गएका थिए । दिउँसो १।३५ बजेदेखि उनी बेपत्ता भएको र खोजी कार्य भैरहे पनि अहिलेसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिनुभयो ।
ती बालक अन्य दिन विद्यालयकै बसमा विद्यालय आउने–जाने गरे पनि शनिवार भएकाले म्याजिक भ्यान चढेर विद्यालय आएका गएका थिए । उनी पढेर स्कुलको गेटबाट बाहिर निस्किएको सीसीटीभी फुटेजमा देखिएको उनका ठूलोबुवा कमल बरालले जानकारी दिनुभयो । बालकका आफन्तले निकेशको खोजतलासको माग गर्दै इलाका प्रहरी कार्यालय गीतानगरमा निवेदन दिएका छन् । तस्विरमा देखिएको बालक कतै देख्नुभयो भने नजिकैको प्रहरी कार्यालय वा परिवारजनलाई खबरगरिदिन परिवारजनले आग्रह गरेका छन् ।–00–


