चितवन, ७ फागुन । एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिगमा समुह बीको अर्किड इंग्लिस स्कुलले लगातार दोश्रो जित समुह एको अंकुरमले पहिलो जित निकालेको छ । आजको खेलमा अर्किडले सनराइज इंग्लिस स्कुललाई ६ तथा अंकुरमले लक्ष्मी मावीलाई ८ विकेट हराएको हो ।
भरतपुर १५ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको सनराइज १७ ओभरमा ६३ रन जोड्दा अलआउट भयो । सनराइजका लागि कप्तान चन्दन महतोले मध्यक्रममा सर्वाधिक २२ रन बनाए । ओपनर सुजल पण्डितले ११ रन जोडे ।
सनराइजको इनिङ्स ध्वस्त बनाउनेक्रममा मन्दिप बरालले ४, सौगात सापकोटाले ३ र अमन भण्डारीले २ विकेट लिए । ६४ रनको झिनो लक्ष्य पछ्याएको अर्किडले १२.१ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । अर्किडको जितमा सौगात सापकोटाले नटआउट १० रन बनाए । त्यसअघि ओपनर सुगम ढुंगानाले १० रन जोडे । बलिङमा अमुल कार्कीले २ तथा सौगात सुवेदी र चन्दन महतोले समान १ विकेट लिए । ४ ओभरमा १ मेडनसहित १० रन खर्चदै महत्वपुर्ण ४ विकेट लिएका अर्किडका मन्दिप बराल खेलको प्लेयर अफ द म्याच भए ।
जारी प्रतियोगितामा ३ खेलबाट १३ विकेट लिएका उनी सर्वाधिक विकेट टेकरको सूचीमा शीर्षस्थानमा छन् । समुह बीमा लगातार दुई खेल जितेको अर्किड ४ अंक जोड्दै तालिकाको शीर्षस्थानमा कायम छ । यस्तै अर्को खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको लक्ष्मी मावि जगतपुर १३।१ ओभरमा अलआउट हुँदै ४७ रनमा रोकियो । लक्ष्मीका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् भने ६ ब्याटरले रनको खाता समेत खोल्न सकेनन् ।
लक्ष्मीलाई सस्तैमा रोक्नेक्रममा सुयोग अधिकारीले ४ तथा इन्सिप पौडेल र मनोज सापकोटाले समान २ विकेट लिए । ४८ रनको झिनो लक्ष्य पछ्याएको अंकुरमले ४।३ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । अंकुरमको जितमा ओपनर विप्लव पोखरेलले नटआउट २१ रन बनाए । ४ ओभरमा ८ रन खर्चिएर ४ विकेट लिएका अंकुरमका सुयोग अधिकारी खेलको प्लेयर अफ द म्याच बने । समुह एमा २ खेलबाट पहिलो जित निकालेको अंकुरम २ अंकसहित नेट रनरेटको आधारमा वाल्मिकीलाई पछि पार्दै दोश्रो स्थानमा उक्लिएको छ ।
प्रतियोगिता अन्तर्गत भोलि हुने पहिलो खेलमा विश्वप्रकाश मावि र प्रभात मावि तथा अर्को खेलमा वाल्मिकी शिक्षा सदन र मावि गंगानगर प्रतिस्पर्धा गर्नेछन् । भरतपुर महानगरपालिकाको आयोजना, चितवन जिल्ला क्रिकेट संघको सह–आयोजना तथा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको मुख्य प्रायोजनमा प्रतियोगिता संचालन भैरहेको छ । –00–

