मकवानपुर, ४ बेशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६, सुनाचुरीस्थित सडक खण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्।
इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा घाइते भएका १६ जनाको उद्धार गरी उपचारका लागि चितवन अस्पताल पठाइएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्यामु अर्यालका अनुसार दुर्घटनापछि बस चालक बाराको कोल्बी नगरपालिका–११ निवासी २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको छ।–00–


