संकल्प यात्रामा एमालेले देखेका मध्यपहाडका समस्या प्रधानमन्त्रीसमक्ष पेश

काठमाडौं, ९ माघ । नेकपा एमालेले ‘झुलाघाट(चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’मा देखेका समस्यालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष पेश गरेको छ। मंगलबार बिहान अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमालेको टोली बालुवाटारमा पुगेर समृद्धिका लागि संकल्प यात्रामा मध्यपहाडका स्थानीय बासिन्दाले राखेका समस्यालाई लिखित रुपमा प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएको हो।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन एमालेका पदाधिकारीसहित शीर्ष नेताहरु पुगेका थिए। ध्यानाकर्षण पत्र बुझाउँदै पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टीले सञ्चालन गरेको अभियानले मध्यपहाडी क्षेत्रको जनजीवन, विकास निर्माण, जनताको मनोविज्ञान, राजनीतिक सहकार्यको स्थिति, समृद्धिको आकांक्षा र सम्भावना बुझ्न महत्वपूर्ण योगदान पुगेको बताउँदै ध्यानाकर्षणपत्र सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गरे।

 

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार एमालेले ४६ वटा क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग तथा सुझावहरु बुझाएको छ। एमालेले मध्यपहाडमा पर्यटन,विकास पूर्वाधार, फलफूल खेतीलगायतका सम्भावना देखेको छ।

यात्राका क्रममा विभिन्न शिर्षकमा मध्यपहाडका जिल्लाका पार्टी कमिटी, स्थानीय तह, समुदाय, उद्योगी व्यावसायीले एमालेसँग त्यस क्षेत्रको विकास र समस्याका विषयलाई राखेका छन् ।  एमालेले मध्यपहाडी लोकमार्गसहित ६ राजमार्गको पनि अध्ययन गरेको थियो। तमोर कोरिडोर(चतारा–मूलघाट–सुभांगखोला–गणेशचोक) राजमार्ग, चतरा–लेगुवा(कोशी कोरिडोर) राजमार्ग, मदनभण्डारी राजमार्ग, कान्ति राजमार्ग, हुलाकी राजमार्ग पनि मध्यपहाडी लोकमार्गसँग जोडिएका छन्।

संकलन गरिएका समस्यालाई वर्गीकरण गरेर एमालेले प्रधानमन्त्रीलाई बुझाएको हो। एमालेले मंसिर १४ गतेदेखि पुस १ गतेसम्म पश्चिमको झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्म संकल्प यात्रा गरेको थियो।

यात्रामा भेटिएका पर्यटन, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, सामाजिक तथा आर्थिक विकासका लगायतका समस्यालाई प्राथमिकिकरण गरेर बुझाएको छ। एमालेले समस्या समाधान गर्न पहल गर्नुका साथी भावी कार्ययोजना योजनासमेत बनाएर अगाडि बढ्ने भएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु