चितवन, २७ मंसिर ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९ औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउने विद्यार्थीहरूको नामावली सार्वजनिक गरेको छ ।
त्रिविको दिक्षान्त समारोहमा एमबीएस परीक्षामा सर्वप्रथम भएकी चितवनको बालकुमारी कलेजकी ममता सापकोटाले पदक र पुरस्कार पाउने भएकी छन् । उनले नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिं स्वर्ण पदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार पाउने भएकी हुन् । सापकोटाले ३.८७ सिजिपिए ल्याएकी थिइन् ।
आगामी पुस २ गते दशरथ रङ्गशालामा हुने सो समारोहमा विश्वविद्यालयबाट विभिन्न तह एवं विषयका उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूलाई पदक एवं पुरस्कार प्राप्त गर्न लागिएको हो । त्रिविले यो पटक हरेक वर्ष प्रदान गर्दै आएको कुलपति पदक भने वितरण नगर्ने भएको छ।
उक्त नामावलीमा उल्लेख भएका विद्यार्थीहरू बाहेक अन्य कुनै विद्यार्थीले दीक्षान्त पदक एवं पुरस्कारहरू प्राप्त गर्नुपर्ने आधार भए मङ्सिर २९ गतेभित्र स–प्रमाण परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।

