गैडाकोट(नवलपुर) २९ साउन । नारायणी नदीको बाढी बस्तीमा पसेपछि गैंडाकोटको बोटे गाउँका २० घर परिवार विस्थापित भएका छन् । गएराति लेदो माटोसहितको बाढी वस्तीमा पसेपछि उनीहरु विस्थापित भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
नारायणीको बाढीको सतह बढेर जोखिमको सम्भावना बढेपछि प्रहरी प्रशासनले सूचना जारी गर्दै सुरक्षित स्थानमा जान आग्रह गरेको थियो । त्यसपछि उनीहरु लत्ताकपडा, खाद्यान्न लगायतका अत्यावश्यक सामान बोकेर सुरक्षित स्थानमा गएको प्रहरीको भनाइ छ । विस्थापित भएकाहरु आफन्तको घरमा बसेका छन् । –00–
फोटोः नारायणी नदीमा आएको बाढीको पछिल्लो अवस्था ।

