पोखरा, २६ असार । हवाइ दुर्घटनामा कास्कीको रुपा गाउँपालिकाले ६ महिनामा दुई पाइलट गुमाएको छ । गत माघ १ मा पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा सिनियर पाइलट कमल केसीको निधन भएको थियो ।
मंगलबार सोलुखुम्बुको हेलिकप्टर दुर्घटनामा अनुभवी पाइलट चेतबहादुर गुरुङले ज्यान गुमाए । उनीहरु दुवै रुपा गाउँपालिकामा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाएका थिए । पाइलट गुरुङलाई गत वर्ष रुपा गाउँपालिकाले आफ्नो स्थापना दिवसमा ‘रुपा रत्न’ बाट समेत सम्मान गरेको थियो । रुपा–६ मोहोरियामा गुरुङका दाजुभाइ रहेका छन् ।
हेलिकप्टर दुर्घटनामा उनको निधनको खबर पाएपछि आफन्त सोमबार नै काठमाडौं पुगेका छन् । ६ महिनाको अवधिमै दुई होनहार पाइलटलाई गुमाउनुपर्दा रुपा गाउँपालिका शोकमा डुबेको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए । –00–


