सिमाने चौधरी । सेतो नेपाल–
कालिका, २५ असार । नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई शुद्धखानेपानी तथा सरसफाईको हकको स्पष्ट व्यवस्था गरिएको भएपनि कालिका नगरपालिकाको वडा नं. ११ स्थित सैपाङ गाउँको ६८ घरपरिवारमा दुषित पानी पिउन बाध्य छन् ।
घरघरमा टुटीधारा छ तर पानी आउँदैन । २०६१ सालमा बाढीसँगै आएको पहिरोले पानीको मुहान बगाएपछि सैपाङ गाउँमा पिउने पानीको समस्या थपिएको छ । मुहान बगाएपनि सैपाङ खोला र खादती खोलाबाट टुटीधारामा पानी आइरहेको थियो । खोलाको पानी पनि सुकेपछि गाउँमा पिउनेपानीको समस्या भएको स्थानीय रामबहादुर प्रजाले बताए ।
धारामा पानी आउन छाडेपछि गाउँलेहरु डेढघण्टा हिडेर पानी लिन कुवा पुग्छन् । गाउँदेखि पारिपट्टी पहाडको फेदीमा कुवा छ स्थानीय मधुकर प्रजाले भने – कुवामा पानीलिन जानेहरुको भीड हुन्छ । मधुकरका अनुसार चैत, बैशाख महिनामा गाग्रीमा पानी पर्न पाइदैन । १०/१५ वटा गाग्रीको लाईन हुन्छ भर्दाभर्दै कुवाको पानीनै सकिन्छ ।
सैपाङको स्कुलमा समेत पिउने पानीको समस्या छ । विद्यालयका प्राधानाध्यापक झलक भट्टले विद्यार्थीलाई पानी दिन समेत समस्या रहेको बताए । विद्यालयको परिसरमा टुटीधारा छ तर पानी आउँदैन उनले भने – सैपाङमा पानीको हाहाकारनै छ । वडाले गाउँमा टुटीधाराको व्यवस्थापन गरेको थियो । तर पानीको मुलनै सुकेपछि घरमा भएको धारा स्थानीयलाई निल्नुन ओकेल्नु जस्तै बनेको छ ।






–00–

