- सिमोन चौधरी । सेतोनेपाल
कालिका, २४ असार । कालिका नगरपालिकाले नगरक्षेत्रभित्रका दुग्ध उत्पादक किसानलाई अनुदान वितरण गरेको छ ।
किसानलाई दुग्ध उत्पादनका लागि प्रोत्साहन स्वरुप प्रति लिटर १ रुपैयाँका दरले अनुदान वितरण गरेको हो । नगरपालिकाको वडा नं. २ मा रहेको महिला संजालको भवनमा एक कार्यक्रमकाबीच ७ दुग्ध सहकारी र २ वटा व्यक्तिगत फार्मलाई ३४ लाख ४७ हजार ६ सय ९३ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ । नगर प्रमुख विनोद रेग्मीले चेक हस्तान्तरण गरेका हुन ।
अनुदान रकम पाउने सहकारीहरुमा पदमपुर दुग्ध उत्पादक सहकारी संस्था लि., मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि.नवमिलिजुली दुग्ध उत्पादक सहकारी संस्था लि., उत्थान दुग्ध उत्पादक सहकारी संस्था लि, सामुदायिक दुग्ध उत्पादक सहकारी संस्था लि र भटेनी दुग्ध उत्पादक सहकारी संस्था लि रहेका छन् । यस्तै दुईजना व्यक्तिगत फार्म संचालन गरेको किसानहरुमा कान्छी मगर र कृष्णप्रसाद घिमिरेले अनुदान रकम प्राप्त गरेका छन् ।
विगत चारवर्षदेखि नगरक्षेत्रभित्रका दुग्ध विक्रीगर्ने कृषकहरुलाई नगरपालिकाले अनुदान दिँदै आएको छ । यस अघि १० हजार लिटर भन्दाबढी दुग्ध विक्रीगर्ने कृषकहरुलाई प्रतिलिटर २५ हजारका दरले अनुदान दिँदै आएको थियो । यो वर्षदेखि दुग्ध उत्पादनको आधारमा अनुदान वितरण थालिएको पशुसेवा शाख प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार नगरपालिकाले कार्यविधिनै बनाएर अनुदान दिन थालेको हो । दुग्ध उत्पादनगरी सहकारी संस्था मार्फत विक्रीगर्ने कृषक÷व्यवसायीलाई प्रदेश अनुदानमा थप गरी दुग्ध उत्पादनतर्फ आकर्षण बढाउने नगरपालिकाको मुख्य योजना हो ।
अनुदान वितरण कार्यक्रमलाई संवोधन गर्दै नगर प्रमुख विनोद रेग्मीले किसानहरुलाई प्रोत्साहन स्वरुप अनुदान वितरण गरिएको जानकारी दिए । राम्रो दुग्ध उत्पादनका लागि किसानहरुले आहाराको रुपमा घाँसलाई प्राथमिकता दिन समेत सुझाव दिए । दाना चोकर खुवाएर भन्दा घाँस खुवाएर दुग्ध उत्पादन राम्रो हुन्छ नगर प्रमुख रेग्मीले भने । दुग्ध उत्पादनका आधारमा दिइएको अनुदानका कारण गतवर्षभन्दा यस वर्ष दुग्ध उत्पादनमा बृद्धि आएको नगर प्रमुख रेग्मीले जानकारी दिए ।
कार्यक्रममा नगरकी उप प्रमुख विमला तमाङले कृषकहरुको समस्यालाई संवोधनगर्न थोरै रकम भएपनि अनुदान स्वरुप दिन पाउँदा खुशी लागेको बताईन । स्वागत मन्तव्य राख्ने क्रममा उपप्रमुख तमाङले आगामी दिनमा अझै अनुदान रकम थप गरेर कृषकहरुलाई संवोधनगर्न नगरपालिका लाग्ने प्रतिवद्धता जनाईन । कार्यक्रममा नगरपालिकाका प्रशासकिय अधिकृत केशव प्रसाद उपाध्याय, वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, कृषक कृष्णप्रसाद घिमिरे, सहकारीका तर्फवाट कल्पना आचार्य, लक्ष्मी चौलागाई लगायतले बोलेका थिए ।
कालिका नगरपालिकाका किसानहरुले उत्पादन गरेर विक्री गरेको दुग्धवाट कालिकामा यो वर्ष २४ करोड १३ लाख ३८ हजार ५ सय १० रुपैयाँ भित्रीएको छ । निजी दुग्ध कम्पनी दर अनुसार प्रति लिटर ७० रुपैयाँका दरले विक्रीहुँदा यो रकम नगरपालिमा भित्रिएको नगरपालिकाको दावी छ ।









–00–

