पूर्वी चितवनकै जेठाे विद्यालयमा अझै टिनकाे छानामूनि पढाई

कारी महताे-
खैरहनी, २१ जेठ ।वि.सं. २०१२ सालमा स्थापना भएकाे पूर्वी चितवनकै जेठाे विद्यालयमा अझै पनि टिनकाे छानामूनि पढाइ हुने गरेकाे सुन्दा पत्यार नलाग्न सक्छ । तर कुरा साँचाे हाे ।

 

खैरहनी नगरपालिकाकै केन्द्रविन्दु मानिने खैरहनी माध्यमिक विद्यालयकाे प्रावि तहकाे सबै कक्षाहरू घाममा तात्ने र वर्षामा चुहिने टिनकाे छानामुनि पढाइ हुने गरेकाे छ । नर्सरी, केजीसहित कक्षा एकदेखि पाँचसम्म र प्रावि अफिस अफिसकाे आठ वटा काेठामा ताताे छेक्ने जिप्सन वा प्लाई समेत छैन  । गर्मी माैसममा जस्तापाता तातेर अत्यधिक गर्मी हुने एवम् पानी पर्दा चुहिने कारणले विद्यार्थीकाे पठनपाठनमा निकै समस्या छ ।

गर्मीका कारण विद्यार्थीहरू टाउकाे दुखेकाे भनेर कक्षाकाेठामा निदाउने र काेही सर्ट फुकालेर झाेलामा राख्ने गर्छन् । शिक्षकहरूले पनि जति सिकाउनुपर्ने, त्यति सिकाउन नसककेकाे बताउँछन् ।

स्थापनाकालमा राष्ट्रिय प्रथमिक विद्यालय मझुई नामबाट शुरू भएकाे विद्यालयकाे नाम महेन्द्र विद्याश्रम, पृथ्वी मावि हुँदै खैरहनी माविसम्म नाम फेरिदै गयाे । हालसम्म सत्र जना प्रधानाध्यापक फेरियाे, त्यति नै पटक विद्यालय व्यवस्थापन समिति फेरियाे, कैयाैं शिक्षक र हजाराैं विद्यार्थी फेरिदै गए । तर विद्यालयकाे अवस्था फेरिन सकेकाे छैन । खैरहनी नगरपालिकाकै केन्द्रमा रहेकाे स्कुल भएपनि बत्तीमूनिकाे अध्याराे छायाँमा रहेकाे छ ।

साविक नगरपालिका कार्यालय तथा ६ नं. वडा कार्यालयकाे आँगनै जाेडिएकाे याे स्कुलकाे अवस्था फेर्न सराेकारवाला कसैकाे चासाे देखिएकाे छैन ।

शैक्षिक गुणस्तर सुधार गर्न भनी खैरहनी नगरपालिकाले कार्यविधि तयार गरी नगरपालिकाभित्र रहेका २७ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित ९२ जना शिक्षकहरूकाे सरूवा गरेकाे छ । तर खैरहनी माविकाे प्रावि तहकाे अवस्था सुधार गर्न नगरपालिका र वडाका जनप्रतिनिधिहरूकाे ध्यान पुग्न सकेकाे छैन ।

हालै सरूवा भई आएका प्रधानाध्यापक गाेपाल प्रसाद शर्माले विद्यालयकाे प्रावि तहकाे अवस्था देखेर मुटु नै छाेएकाे प्रतिक्रिया दिएका छन् । सबैभन्दा माया गर्नुपर्ने बालबालिकाहरूमाथि अन्याय भएकाे रहेछ । प्रअ शर्माले केही समयभित्रै प्रावि तहकाे कक्षाकाेठा व्यवस्थापन गर्ने जनाएका छन् ।

अत्यधिक गर्मी बढेसँगै चितवनका पाँच वटा स्थानीय तहले साउनमा हुने वर्षे विदा कट्टा हुने गरी एक हप्ता गर्मी विदा दिएका छन् ।

–00–

Share:

सम्बन्धित समाचारहरु