वन कुकुरको विषयमा सौराहामा अन्तराष्ट्रिय सम्मेलन जारी, संरक्षणका लागि विश्वमै पहिलो कार्ययोजना तयार हुँदै

सौराहा, २० जेठ । वन कुकुर संरक्षणका लागि चितवनको सौराहामा अन्तराष्ट्रिय सम्मेलन हिजोदेखि सुरुभएको छ । वन कुकुर पाटेबाघभन्दापनि दुर्लभ स्तनपायी जनावर हो । ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको सभाहलमा वन तथा वातावरण मन्त्रालयका सचिव रेवतीरमण पौडेलले एक औपचारिक कार्यक्रमका बीच सम्मेलनको उद्घाटन गरेका छन् । चितवन निकुञ्जसहित नेपालमा २ सय ५० को संख्यामा रहेको वन कुकुर विश्वभर २ हजार ५ सयको हाराहारीमा रहेको अनुमान छ ।

 

सन् २०१९ मा थाइल्यान्डमा पहिला अन्तर्राष्ट्रिय सम्मेलन गरेपछि वन कुकुरको अनुसन्धान सुरू गरिएको थियो । चार वर्षपछि चितवनको सौराहामा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत अम्बिका खतिवडाले जानकारी दिए । वन कुकुरको सङ्कटापन्न स्थितिलाई मध्यनजर गर्दै सन् २०१९ मा पहिलोपटक वन कुकुरको संख्या र आवासको संरक्षण मूल्याङ्कन कार्यका लागि थाइल्यान्डमा पहिलोपटक कार्यशाला गरिएको थियो ।

 

सौराहामा सुरू भएको सम्मेलनमा वन कुकुरको वैश्विक अवस्था, आहारा प्रजातिको व्यवस्थापन, बासस्थान संरक्षणहरुमाथि बृहत् छलफल गरी ‘वन कुकुर संरक्षण कार्ययोजना’ निर्माण गरिनेछ । यो सम्मेलनले वन कुकुर संरक्षणका लागि विश्वमै पहिलो कार्ययोजना तयार पार्नेछ । सम्मेलनमा प्रोफेसर हिल कोबयाशीले वन्यजन्तुको अनुगमनका लागि नयाँ प्रविधिको प्रयोग, अर्जुन श्रीवास्तवले ‘रेड लिस्ट एसेसमेन्ट्स’, मार्टिन गिल्बर्टले वन कुकुरलाई लाग्ने रोग र रोकथामका उपाय तथा सुजन खनालले मानव–वन कुकुर द्वन्द्वका कारण तथा समाधानका उपायका बारेमा प्रतिवेदन प्रस्तुत गरेका छन् ।

दक्षिण एसियाली क्षेत्रमा पाइने वन कुकर (ढोँले) आइयुसिएनको रेड लिस्टमा ‘अति सङ्कटापन्न जाति’को रुपमा सूचीकृत बाघपछिको अति दुर्लभ स्तनपायी जनावर हो । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची र नेपालको राष्ट्रिय रातो सूची दुवैमा लोपोन्मुख संरक्षण स्थिति’मा सूचीकृत छ ।

 

तस्विरः कोमलचन्द्र भगत

–00–

 

Share:

सम्बन्धित समाचारहरु