काठमाडौँ , ८ जेठ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समयसमयमा नेपालमा राजनीतिक स्वार्थका लागि साम्प्रदायिक विद्वेष भड्काउन खोजिएको बताएका छन् । उनले नेपाल धार्मिक विद्वेष फैलाउनेहरूबाट जोगिनुपर्ने धारणा राखेका छन् ।
नेपाल मुस्लिम इत्तेहाद संगठनले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले नेपालीहरुले अतिवादमा जानै नहुने बताए । उनले सामाजिक सदभावसहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका हुन् ।
‘नेपाल विविधताको देश हो । हाम्रो सामाजिक विविधता, सांस्कृतिक विविधताहरू पनि छन । यसलाई हामीले, नेपालीहरू सबैले हाम्रो सम्पदा, सामूहिक सम्पत्ति हो भनेर ठान्न सक्नु पर्दछ । यो सम्पत्तिको हामीले त्यसै अनुसार सकारात्मक सदुपयोग गर्ने दृष्टिकोण लिनु पर्दछ । यसलाई परस्परमा विद्वेष, घृणा, अनेकता र फाटोको विषय बन्न दिनु हुँदैन । मैले देखेको छु–विश्व राजनीति कहिले कुन धर्म र कुन धर्म । कहिले एउटै धर्म भित्र पनि त्यो पक्ष र त्यो पक्ष भनेर विभिन्न खाले चल्ने गरेका छन्, उनले भने, धर्मका नाउमा ठूलाठूला लडाईँहरु भएका छन । धर्मका नाउमा देश विनाश भएका छन । धर्मका नाउमा मानिसहरू मारिएका छन । त्यसकारण हामीले अतिमा जानु हुँदैन । नकारात्मक सोचमा जानु हुँदैन ।
पूर्वप्रधानमन्त्री ओलीले नेपालीहरूबीच आपसी झगडा गराएर मुलुकको सामाजिक सद्भाव बिथोल्ने प्रयास हुनसक्ने भन्दै सचेत पनि गराएका छन् ।
हाम्रो देश विविधतायुक्त देश हो हरेक हिसाबले । यो सम्पदा, सामूहिक सम्पदा सामाजिक न्याय र समानतासहितको सदभावसहितको, पारस्पारिक सदभावसहितको राष्ट्रिय एकतामा जानु पर्दछ । कहिलेकहिले राजनीतिक स्वार्थहरूका लागि, अरु स्वार्थ होइन । राजनीतिक स्वार्थका लागि धर्मलाई हतियार बनाउने गरिन्छ, गरिएको छ, उनले भने । –00–


