नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं, ७ जेठ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदै छ । आज बस्ने दुवै सदनको बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ ।

यता, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) भने सत्तारुढ गठबन्धनका तर्फबाट ल्याइएको नीति तथा कार्यक्रमको विपक्षमा देखिएको छ । शनिबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले सरकारले पेस गरेको नीति तथा कार्यक्रमको आलोचना गर्दै त्यसलाई पास गर्न दिन नहुने बताएका छन् ।

उनले सांसदहरुलाई त्यसको विरोधमा उभिन भनेका छन् । नीति तथा कार्यक्रममा समावेश विषयहरुलाई हेर्दा नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो देखिएको भन्दै उनले अहिले अर्थतन्त्र संकटतर्फ गइरहेको भन्दै सुधारका केही संकेतहरु पनि सन्तोषजनक नरहेको बताएका छन् ।

उनले बैठकमा नीति तथा कार्यक्रमले अहिलेको आर्थिक, सामाजिक, राजनीतिक समस्या पहिल्याउन नसकेको भन्दै संसद्मा यसको विरोध गर्न सांसदहरुलाई निर्देशन दिए । उनले सरकारको कार्यक्रमलाई पास हुन दिन नहुने पनि बताए ।

सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आज छलफल हुँदै छ । नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पहिले बोल्ने भएका छन् ।

एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसद्मा छलफलका क्रममा अध्यक्ष ओलीले बोल्ने बताए । उनले भने, “हाम्रो पार्टीको तर्फबाट सरकारको नीति तथा कार्यक्रमबारे पार्टी अध्यक्ष तथा संसदीय दलका नेता पहिले बोल्नुहुन्छ । समसामयिक विषयमा पनि बोल्नुहोला ।”

संसद्मा आजदेखि नीति तथा कार्यक्रममा छलफल हुँदै छ । –000–

 

–00–

Share:

सम्बन्धित समाचारहरु