खैरहनी, २९ बैशाख । गाउँ कमिटीनै गठननगरी अधिवेशनगर्न लागेको भन्दै विवाद भएपछि थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ को अधिवेशन स्थगीत भएको छ ।
बन्दसत्रमा सहभागीहरुले गाउँ कमिटी गठन हुन सक्नुको कारण माग गरेपछि विवाद उत्पन्न भएको थियो । खैरहनी वडा नं. ५ स्थित थारु संग्रहालयको सभाहलमा अधिवेशन आयोजना गरिएको थियो । छैठौं अधिवेशनको उद्घाटनसत्र सकेर बन्दसत्रमा छलफलगर्दा क्षेत्र नं. ७ को ९ वटा गाउँमा अझै इकाई कमिटी गठन हुन बाँकी रहेको खुलेपछि विरोध सुरु भएको हो ।
गाउँ इकाई कमिटी गठन सकिएपछि मात्रै क्षेत्रीय अधिवेशनगर्ने विद्यानमा छ । क्षेत्र न.७ का सभापति चुडामणी चौधरीले गठनगरेका गाउँ इकाई कमिटीको विषयमा पनि विरोध जनाएका छन् । उनले आफुखुशी एक्लै गएर दुईचारजनाको नाम मागेर इकाई कमिटी बनाएको आरोप छ । जिल्लाले तोकेको आधिकारीक व्यक्ति र क्षेत्रका अन्य पदाधिकारीहरुको उपस्थिती बिना आफुखुशी इकाई कमिटीका लागि नाम मागेकाले सहभागीहरुले विरोध जनाएका हुन ।
दुईदिनभित्र बाँकी रहेका ९ वटा गाउँ इकाई कमिटी गठनगर्ने र गठन भएका इकाई कमिटीहरुको पुनः आधिकारीक व्यक्तिहरुद्धारा सनाखतगर्ने सहमतीमा आज आयोजना गरिएको अधिवेशन स्थगीत गरिएको जिल्ला सभापति ललितकुमार चौधरीले जानकारी दिए । दुई दिनभित्रमा बाँकी गाउँ इकाई कमिटी गठनगर्न निर्देशन दिएका छौं सभापति चौधरीले भने – यो बीचमा अन्य क्षेत्रमा पनि अधिवेशन भएकाले अर्को शुक्रवार पुन अधिवेशनका लागि तयारीगर्न भनेका छौं ।
खैरहनी नगरपालिकाका मेयर शशी खनियाँले उद्घाटन गरेको अधिवेशनमा सभापति चुडामणी चौधरीले सांगठनीक प्रतिवेदन सहित भावि कार्ययोजना सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सभाका कोषाध्यक्ष भुखु चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय सदस्य चन्द्राकुमारी चौधरीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा वडा न.. ५ का वडा अध्यक्ष छत्रनाथ सुवेदी, थाकस पूर्व सभापतिहरु टिकेन्द्र चौधरी, जोखाप्रसाद चौधरी, विश्राम महतो, क्षेत्र नं. ६ का क्षेत्रीय सभापति राधा चौधरी, थाकसका केन्द्रीय सदस्य राजेन्द्र प्रसाद चौधरी लगायतले बोलेका थिए । –00–

