झापामा ओली सहभागी कार्यक्रममा भएको घटनाबारे संसद्‌मा गृहमन्त्रीको ‘ब्रिफिङ’

काठमाडौं, १३ बैशाख। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापाको कार्यक्रममा जाँदा भएको घटनाबारे ब्रिफ्रिङ गरेका छन् । आजको प्रतिधिसभा बैठकमा उनले कोसी प्रदेशको नामको विरोध गर्नेहरुले ढुंगामुढा र कालो झण्डा देखाएको बताए ।

“केपी शर्मा ओलीज्यू आफ्ना केही सहयोगीहरुसहित आफ्नो पार्टीको ग्रासरुट अभियानको सिलसिलामा इलाम जाने सन्दर्भमा झापा पनि जानु भएको थियो । झापाको बुधबारेमा उहाँको कार्यकर्तासँग भेटघाट गर्ने र कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम थियो,” गृहमन्त्रीले भने, “त्यो कार्यक्रममा जाने क्रममा उहाँलाई कोसी नामकरणमा विरोध राख्ने समूहको तर्फबाट कालोझण्डा प्रदर्शन गर्ने र अभद्र व्यवहारसहित त्यो कार्यक्रम हुन नदिने, ढुंगामुढाको दुःखद घटना भएको छ ।”

उनले त्यसप्रति सरकारको तर्फबाट दुःख व्यक्त गर्दै घटनाको निन्दा गरे । त्यो घटनाका क्रममा ढुंगामुढा प्रहार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । दुई प्रहरी घाइते भएको श्रेष्ठले जानकारी दिए ।

सरकार संविधानको कार्यान्वयनमा प्रतिवद्ध रहेको भन्दै शान्तिपूर्ण रुपमा आफ्ना कुरा राख्न आग्रह गरे । उनले सबैकुरा वार्ताबाट समाधान गर्न सकिने बताए ।

त्यस्तै, उपप्रधानमन्त्री श्रेष्ठले ओलीलगायत नेता र सबै नागरिकको स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने अधिकारको रक्षा गर्न सरकार दृढ रहेको बताए ।–00–

 

Share:

सम्बन्धित समाचारहरु