रास्वपा महामन्त्री ढकालका ड्राइभरसँग प्रहरी कार्यालयमा सोधपुछ

रविका ड्राइभर छतबाट खसेको घटनाबारे चितवन प्रहरीले अनुसन्धानगर्दै

चितवन, ४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका ड्राइभर छतबाट खसेको घटनाबारे चितवन प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ।

अनुसन्धानका लागि लामिछानेका ड्राइभर दिलबहादुर थापासँग आइतबार राति सँगै सुतेका रास्वपा महामन्त्री मुकुल ढकालका ड्राइभर कालुराम राजवंशीलाई प्रहरी कार्यालयमा ल्याइएको छ। ‘सोधपुछका लागि हामीले उहाँलाई कार्यालयमा बोलाएका हौं,’ चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले भने।

यसअघि राजवंशीले सँगै सुतेका थापा कसरी र कतिबेला खसे भन्नेबारे आफूले केही थाहा नपाएको र अरूले हल्ला गरेपछि ब्युँझिएको बताएका थिए। सोमबार बिहान ४ बजेतिर भरतपुर११ स्थित लामिछानेको घरको छतबाट खसेका थापालाई पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको छ। एसपी कार्कीका अनुसार तीन तलामाथिबाट खसेका थापाको घाँटीको हड्डी भाँचिएको छ। उनी अहिले अचेत छन्।

‘माथिबाट खस्दा घाँटी गमलामा परेछ। भाँचिएको हड्डीको अपरेशन भएर अहिले भेन्टिलेटरमा राखिएको छ, टाउको पनि बजारिएको छ, अवस्था गम्भीर छ,’ एसपी कार्कीले भने। सोमबार बिहान ४ बजेतिर थापा लामिछानेको घरको तेस्रो तलाबाट खसेका थिए। प्रहरीले यस विषयमा विभिन्न व्यक्तिहरूसँग सोधपुछ पनि गरिरहेको छ। प्रहरीले दुई जना ड्राइभर सुतेको कोठामा रक्सीका बोतल पनि फेला पारेको छ।

‘उनीहरूले रक्सी खाएका थिए कि थिएनन् भन्ने परीक्षण गर्न रगतको स्याम्पल निकालेर दिएका छौं,’ एसपी कार्कीले भने। प्रहरीले घटनाबारे अनुसन्धान गर्न कसैलाई नियन्त्रणमा नलिएको भए पनि वरपरका मानिसहरूसँग सोधपुछ गरेको कार्कीले बताए।–00–

 

Share:

सम्बन्धित समाचारहरु