रंगशालाको बाँकी काम छिटै सुरु हुन्छ – प्रमुख दाहाल

चितवन, ४ बैशाख । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने पक्का भएको बताउनु भएको छ । वागमती प्रादेशिक क्रिकेट संघ र भरतपुर महानगरपालिको संयुक्त आयोजना भएको १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख दाहालले अब केही प्रकृयाहरु मिलाएर राष्ट्रिय खेलकुद परिषदले काम अगाडि बढाउन लागेको उल्लेख गर्नुभयो ।

अहिले पनि धेरै जनालाई रंगशाला बन्ने हो कि होईन भन्ने प्रश्न उब्जिएको भन्दै प्रमुख दाहालले धुमुर्स–सुन्तली फाउण्डेशनलाई ऋण तिर्न एक मुष्ट रु १२ करोड अनुदान दिई जिटुजी प्रकृयामार्फत बाँकी निर्माण कार्य अगाडि बढ्ने जानकारी दिनुभयो ।
निर्माणाधीन गौतमबुद्घ अन्तर्राष्ट्रिय क्रिकेट रगंशालाको स्वामित्व राखेपले लिने निर्णय भएको र बाँकी कार्य पुलचोक क्याम्पसको प्राविधिक सहयोगमा गर्ने गरी टेण्डर आहावान हुने बताउनुभयो । प्रमुख दाहालले पुलचोक ईन्जिनियरिङ क्याम्पस र राष्ट्रिय खेलकुद परिषदको यसबारे निरन्तर छलफल भईरहेको बताउनुभयो ।

धेरै लामो प्रयासपछि क्रिकेट रंगशालाको निर्माण कार्यलाई अगाडि बढाउन पाउँदा धेरै खुसी महशुस भईरहेको उहाँको भनाई थियो । करिब डेढ वर्षदेखि सुनसान बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सोमबारबाट चहलपहल सुरु भएको छ ।
रंगशाला निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउडेशनले ऋण देखाउदै निर्माण कार्य बन्द गरी भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेको थियो । मन्त्रिपरिषदको बैठकले फाउण्डेशनलाई एक मुष्ट अनुदान दिई संघीय सरकारले थप निर्माण कार्य अगाडि बढाउने निर्णय गरेको थियो ।

वागमती प्रदेश स्तरीय प्रतियोगिताको उद्घाट खेलमा काठमाडौँ र भक्तपुरबीच खेल भएको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु