देवघाट । पवित्र तिर्थस्थल देवघाट धाममा नेपालकै सबैभन्दा अग्लो अष्टधातु सहितको शिवको मुर्ती निर्माण हुने भएको छ । संगम स्थल नजिकै चितवनतर्फ ३० फिट अग्लो अष्टधातु सहितको शिवको मुर्ती बनाउन लागिएको हो । देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनको अगुवाईमा निर्माण हुन लागेको मुर्तीको आजै १००८ स्वामी ज्ञाननन्द सरस्वर्ती महाराजले शिलन्यास गर्नुभएको हो ।
विभिन्न आठवटा धातु मिलाएर बनाउन लागिएको यो मुर्ती नेपालकै सबैभन्दा अग्लो धातुको मुर्ती हुने प्रतिष्ठान चितवनका अध्यक्ष ढुण्डीराज सिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार धर्मशाला सहित अष्टधातु सहितको मुर्ती बनाउन झण्डै ५ करोड खर्च हुनेछ । मुर्ती बनाउने यो परियोजनाका लागि अहिले सम्म प्रदेश र स्थानीय तहवाट ३५ लाख बजेट विनियोजन भइसकेको छ । वागमती प्रदेशवाट २० लाख रुपैयाँ, भरतपुर महानगरपालिकावाट दशलाख रुपैयाँ, रत्ननगर नगरपालिकावाट ५ लाख रुपैयाँ बजेट विनियोजन भइसकेको अध्यक्ष सिलवालले जानकारी दिनुभयो ।
यो संगै अष्टधातु सहितको मुर्ती निर्माणगर्ने योजनालाई सफल बनाउन चितवन सहित देशका सातठाउँमा धार्मिक महायज्ञको समेत आयोजना गरिएको छ । चितवनको सौराहा, टाँडी, भण्डारा, दाङ, पोखरा, जीतपुर र काठमाण्डौंमा गरी सातठाउँमा महायज्ञ आयोजना गरिएको हो । महायज्ञवाट संकलन भएको रकम अष्टधातु सहितको मुर्ती बनाउन खर्च गरिने प्रतिष्ठानले जनाएको छ । महायज्ञगर्ने अभियान जारी छ, अझै देशका प्रमुख शहरहरुमा महायज्ञ गरिने बताइएको छ ।
५ करोड रुपैयाँ खर्च गरेर मुर्ती बनाउन जुटेका अभियन्ताहरु लक्ष्य अनुसारनै निर्धारित समयमानै निर्माण सम्पन्नगर्ने दावी गरेका छन् । ‘प्रति व्यक्तिले पाँच रुपैयाँमात्रै सहयोग गरेपनि पाँच करोड मानिसले सहयोग गरे ५ करोड रुपैयाँ सहजै संकल्न हुन्छ’ अध्यक्ष सिलवालले भन्नुभयो ।
शिवको मुर्ती बनाउन भक्तपुरका कालिगढहरु जुटेका छन् । १ करोड ७० लाख रुपैयाँमा कालिगढले मुर्ती बनाउने जिम्मा लिएका छन् । अहिले सम्म ३५ लाख रुपैयाँ कालिगढले मुर्ती बनाउनमा खर्च गरेका छन् । देवघाटको संगमस्थल नजिकै चितवनपट्टी दशवटा पिलर सहित ढलानयुक्त मुर्ती निर्माणहुने छ ।
तस्विरः रमेश सिलवाल /सेतो नेपाल





((०)))


