फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको खरिद मूल्य नै १८२ रुपैयाँ प्रतिलिटर, महिनामा साढे १० अर्ब घाटा प्रक्षेपण

चैत २ काठमाडौँ ।इन्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ।

आइओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटर १६९ रुपैयाँ ४४ पैसा, मट्टितेल प्रतिलिटर ११३ रुपैयाँ ४९ पैसा, हवाई इन्धन (आन्तरिक)प्रतिलिटर १३१ रुपैयाँ ९४ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर ११४ रुपैयाँ ५१ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर दुई हजार २४० रुपैयाँ ३४ पैसा पुगेको निगमले जनाएको छ।

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ३२.८१, डिजेलमा ३६.४४ रुपैयाँ घाटा हुने देखिएको निगमले विज्ञप्तिमा भनेको छ । यद्यपि,मट्टितेल, हवाइ इन्धनमा भने निगमलाई घाटा छैन ।

पेट्रोलियम पदार्थको बिक्रीबाट चैत महिनामा मात्रै रु १० अर्ब ६१ करोड नोक्सानी हुने निगमको प्रक्षेपण छ। तर, उपभोक्ताका लागि बेच्ने मूल्यमा भने कुनै सूचना दिएको छैन ।

Share:

सम्बन्धित समाचारहरु