तिहारअघि ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गर्दै सरकार

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा तिहारअघि ६७ करोड ५० लाख रुपैयाँ बराबरको धान खरिद गर्ने तयारी गरेको छ। किसानलाई उत्पादनको उचित मूल्य उपलब्ध गराउने र बजारमा मूल्य स्थिरता कायम गर्ने उद्देश्यले सरकारले १५ हजार मेट्रिक टन धान खरिद गर्न लागेको हो।

कृषि, वन तथा पर्यावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच भएको समन्वयपछि सरकारले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने योजना अघि बढाएको हो।

कृषि मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। जसअनुसार मोटा धानको मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ तोकिएको छ।

न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सम्बन्धित निकायसँग समन्वय गरिरहेकी छन्।

सरकारको यस योजनाले किसानलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, धानको बजार मूल्यमा हुने उतारचढाव नियन्त्रण गर्न र किसानलाई बिचौलियाबाट पर्न सक्ने असर न्यूनीकरण गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ।

Share:

सम्बन्धित समाचारहरु