काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले बगाएर ल्याएको नगद राख्ने सेफ तोडफोड गरी रकम चोरी गरेको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रहरीका अनुसार बाढीले बगाएर ल्याएको उक्त सेफ धादिङको गल्छी गाउँपालिका–४ स्थित बेल्खुखोलामा त्रिशूली नदी किनारमा फेला परेको थियो। स्थानीयवासीले सेफ फुटाएर भित्र रहेको नगद निकालेर बाँडफाँट गरेको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा २९ जनालाई नियन्त्रणमा लिइएको र उनीहरूबाट ठूलो परिमाणमा नगद बरामद गरिएको धादिङ प्रहरीका प्रवक्ता डीएसपी प्रकाश दाहालले जानकारी दिए।
पक्राउ पर्नेमा गल्छी गाउँपालिका–४ का २७ वर्षीय पवन पौडेल, ४१ वर्षीय वीरबहादुर रानामगर, ३५ वर्षीय विनोद गिरी, ३३ वर्षीय नवराज भेटुवाल, ४० वर्षीय पूर्णलाल श्रेष्ठ, ३१ वर्षीय विष्णुमणि अधिकारीलगायत स्थानीय बासिन्दा रहेका छन्।
प्रहरीले बरामद गरिएको रकमको वास्तविक स्रोत पहिचान गर्ने तथा घटनामा अन्य व्यक्तिको संलग्नता रहे–नरहेको विषयमा थप अनुसन्धान जारी रहेको जनाएको छ। साथै नियन्त्रणमा लिइएका व्यक्तिमाथि पनि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
सांकेतिक तस्विर


