माडीमा शिक्षक छनोट विवाद चर्कियो, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

चितवन । माडी नगरपालिका–९ भालुखोलास्थित जनजागृति आधारभूत विद्यालयमा करार शिक्षक नियुक्तिका क्रममा भएको भनिएको अनियमितताको विषयलाई लिएर विवाद चर्किएको छ । शिक्षक छनोट प्रक्रियामा नगरपालिकाले गम्भीर त्रुटि गरेको आरोप लगाउँदै थारु कल्याणकारिणी सभा, क्षेत्र नं. १ माडीले निष्पक्ष छानबिन र दोषीमाथि प्रभावकारी कारबाहीको माग गरेको छ ।

भरतपुरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै थारु कल्याणकारिणी सभा क्षेत्र नं. १ ले शिक्षक छनोट प्रक्रियामा भएको भनिएको अनियमितताप्रति गम्भीर आपत्ति जनाउँदै ६ बुँदे माग सार्वजनिक गरेको हो ।

सभापति सुक्रमिया महतोले शिक्षक छनोट प्रक्रियामा भएको भनिएको अनियमितताको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय पुनःछानबिन गर्न माग गरिएको बताइन् । छानबिनबाट दोषी देखिएका व्यक्ति वा पदाधिकारीमाथि प्रचलित कानुन तथा नियमअनुसार प्रभावकारी कानुनी र प्रशासनिक कारबाही हुनुपर्ने उनको भनाइ छ ।

परीक्षामा त्रुटि गर्ने व्यक्तिलाई केवल सचेत गराएर विषय टुंग्याउने प्रयास भइरहेको भन्दै सभाले त्यस्तो प्रक्रिया तत्काल रोक्न माग गरेको छ । अनियमितताका कारण परीक्षार्थीको प्राप्ताङ्क, नतिजा वा प्रतिस्पर्धाको अवसर प्रभावित भएको भए त्यसको निष्पक्ष मूल्याङ्कन गरी प्रभावित उम्मेदवारलाई न्यायोचित अवसर प्रदान गर्नुपर्ने महतोले बताइन् ।

त्यस्तै, संघीय शिक्षा नियमावली तथा प्रचलित कानुनबमोजिम पुनः शिक्षक छनोट प्रक्रिया सञ्चालन गर्नुपर्ने अवस्था आएमा विगतको विवादित प्रक्रियाबाट पूर्णरूपमा अलग, पारदर्शी, निष्पक्ष र विश्वसनीय संयन्त्र निर्माण गर्नुपर्ने सभाको माग छ ।

सभाले शिक्षक छनोट प्रक्रियासँग सम्बन्धित प्रश्नपत्र, उत्तरपुस्तिका, प्राप्ताङ्क, मूल्याङ्कन विवरण, नतिजा तथा निर्णय प्रक्रियालाई आवश्यक कानुनी सीमाभित्र पारदर्शी बनाउन समेत माग गरेको छ । भविष्यमा यस्ता गम्भीर त्रुटि तथा अनियमितता दोहोरिन नदिन नगरपालिकाले स्पष्ट जवाफदेहिता, प्रभावकारी अनुगमन र नियन्त्रणको व्यवस्था गर्नुपर्ने सभाको भनाइ छ ।

माडी नगरपालिका–९ भालुखोलास्थित जनजागृति आधारभूत विद्यालयमा करार शिक्षक नियुक्तिका क्रममा नगरपालिकाबाट गम्भीर त्रुटि भएको आरोप थारु कल्याणकारिणी सभाले यसअघि पनि लगाउँदै आएको थियो । यही विषयलाई लिएर सभाले नगरपालिकाको शिक्षा शाखा तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दीसमेत गरेको थियो ।

विवाद समाधानका लागि नगरपालिकाका जनप्रतिनिधिसँग पटक–पटक वार्ता तथा छलफल भएको सभाले जनाएको छ । तर, छलफलका क्रममा भएका सहमति कार्यान्वयन गर्नुको साटो दोषी देखिएका व्यक्तिलाई संरक्षण गर्न खोजिएको भन्दै सभाले आपत्ति जनाएको छ ।

– “छलफलमा भएका सहमति कार्यान्वयन नगरी दोषी देखिएका व्यक्तिलाई संरक्षण गर्ने प्रयास हामीलाई मान्य हुँदैन,” सभाका उपाध्यक्ष लिलकुमार चौधरीले भने ।

सभाका अनुसार, गम्भीर प्रकृतिको विषयमा छानबिन गरी जिम्मेवारी निर्धारण गर्नुपर्ने अवस्थामा दोषी मानिएका व्यक्तिमाथि प्रभावकारी कानुनी तथा प्रशासनिक कारबाही नगरी केवल सचेत गराउने नगर कार्यपालिकाको निर्णयप्रति आफूहरूको असहमति छ ।

यस्तो निर्णयले सार्वजनिक पद तथा जिम्मेवारीमा रहेका व्यक्तिले गल्ती गरे पनि अन्ततः सामान्य सचेत गराएर उन्मुक्ति पाउन सकिन्छ भन्ने गलत सन्देश जाने सभाको ठहर छ -सभाका उपाध्यक्ष  चौधरीले भने ।

पत्रकार सम्मेलनमा सभापति सुक्रमिया महतो, वरिष्ठ उपाध्यक्ष ओमप्रकाश महतो, उपाध्यक्ष लिलकुमार चौधरी, सचिव चन्द्रका महतो र कोषाध्यक्ष हिरामती गुरौं लगायतको सहभागिता थियो ।

सभाका पदाधिकारीहरूले माडी नगरपालिकाभित्र मौलाउँदै गएको भनिएको बेथिति र अनियमिततालाई निरुत्साहित गर्न आफूहरूले निरन्तर आवाज उठाउँदै आएको बताएका छन् । यो संघर्ष कुनै एक व्यक्ति वा समूहका लागि नभई नगरपालिका भित्रको बेथिति, अनियमितता र जवाफदेहिताको अभावविरुद्धको आवाज भएको उनीहरूको भनाइ छ ।

थारु कल्याणकारिणी सभाले शिक्षक छनोट विवादलाई निष्पक्ष रूपमा टुंग्याउन, दोषी देखिएमाथि कानुनी कारबाही गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन पारदर्शी तथा जवाफदेही प्रणाली निर्माण गर्न माडी नगरपालिकासँग माग गरेको छ ।

Share:

सम्बन्धित समाचारहरु