देशभर मनसुनी वायुको प्रभाव, विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदरभन्दा केही उत्तरतर्फ र पूर्वी भूभागमा सरदर स्थान आसपास रहेको छ।

हाल कोशी र लुम्बिनी प्रदेशका अधिकांश क्षेत्रमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लागेको छ।

मधेश प्रदेशसहित बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

दिउँसो कस्तो रहला मौसम ?

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

पहाडी क्षेत्रका धेरै स्थानमा पनि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।

कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।

राति पनि वर्षाको सम्भावना

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

पहाडी क्षेत्रका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

मधेश र कोशी प्रदेशका तराई भूभागका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रमा केही स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ। तीमध्ये एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने सम्भावना छ।

बाढी र पहिरोको जोखिम, सतर्क रहन आग्रह

भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नसक्ने भएकाले सम्भावित प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

विशेषगरी भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा यात्रा गर्दा मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र नदी तथा खोलानालाको आसपासमा विशेष सावधानी अपनाउन आवश्यक देखिन्छ।

Share:

सम्बन्धित समाचारहरु