करदाता प्रोत्साहन योजनाः २५० रुपैयाँको खरिदमा १० लाख रुपैयाँको बम्पर उपहार

काठमाडौं । करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक गरिएको छ।

आन्तरिक राजश्व विभागका अनुसार शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँ बराबरको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जित्न सफल भएका छन्। विभागले सार्वजनिक गरेको विवरणअनुसार विजेताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ रहेको छ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले बम्पर उपहारको नतिजा सार्वजनिक गरेका थिए।

यसैगरी, योजनाअन्तर्गत अन्य १५ जना उपभोक्ताले जनही एक लाख रुपैयाँका दरले उपहार प्राप्त गरेका छन्।

विभागका अनुसार साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गर्ने तथा नगद कारोबारपछि विभागको वेबसाइटमा बिल अपलोड गर्ने उपभोक्तालाई सहभागी गराई उपहार योजनाको नतिजा घोषणा गरिएको हो।

राजश्व प्रशासनले उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल लिन र कर प्रणालीलाई थप पारदर्शी बनाउन यस्ता प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

Share:

सम्बन्धित समाचारहरु