बागमती सरकार गठनको दौडमा नलाग्ने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशको सरकार गठन तथा सत्ता समीकरणको खेलमा सहभागी नहुने निर्णय गरेको छ।

राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा सरकार गठनको गणितीय खेलमा नलाग्ने र सरकार निर्माणको दौडमा सहभागी नहुने निर्णय सर्वसम्मत रूपमा गरेको हो।

थापाका अनुसार राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट प्राप्त निर्णय र निर्देशनअनुसार बागमती प्रदेश सरकारमा सहभागी नहुने निष्कर्षमा संसदीय दल पुगेको हो।

यसअघि नेकपा एमालेले साउन ६ गते मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो। त्यसपछि साउन ९ गते एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकार गठनका लागि नेतृत्व बाँडफाँट गर्ने सहमति सार्वजनिक भएको थियो। उक्त सहमतिअनुसार बागमती प्रदेशको मुख्यमन्त्री एमालेले पाउने समझदारी भएको छ।

तर प्रदेश सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन एमाले–नेकपा गठबन्धनलाई अझै चुनौती देखिएको छ। बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। एमालेका २५ र नेकपाका २६ गरी गठबन्धनसँग ५१ सांसद मात्रै छन्।

प्रदेशसभामा १२ सांसद रहेको राप्रपाले सरकार गठनको समीकरणमा सहभागी नहुने निर्णय गरेपछि एमाले–नेकपा गठबन्धनले बहुमतका लागि अन्य साना दलहरूको समर्थन खोज्नुपर्ने अवस्था सिर्जना भएको छ।

Share:

सम्बन्धित समाचारहरु