चितवन, १९ साउन । नेपाली सेनाले चितवनको कालिका नगरपालिकास्थित फायरिङ रेञ्ज क्षेत्रमा के–सिरिज (K Series) हतियारको फायरिङ अभ्यास सञ्चालन गर्ने भएको छ।
नेपाली सेना नं. २ विपद् व्यवस्थापन गण, भरतपुर–चितवनले जिल्ला प्रशासन कार्यालय चितवनलाई पत्राचार गर्दै कालिका नगरपालिका–८, कालिकाकल्याणस्थित सिंहनाथ गण (काठमाडौं) मातहतको फायरिङ रेञ्ज क्षेत्रमा साउन २५ गतेदेखि २६ गतेसम्म दुई दिन र एक रात –सिरिज हतियारको फायरिङ अभ्यास गरिने जानकारी दिएको हो।
सेनाका अनुसार रेजिमेन्ट तालिममा सहभागी शिक्षार्थीहरूलाई व्यावहारिक ज्ञान दिलाउने उद्देश्यले उक्त अभ्यास सञ्चालन गर्न लागिएको हो। अभ्यास अवधिभर फायरिङ क्षेत्र आसपासका स्थानीयवासी, पशुचौपाया तथा सर्वसाधारणलाई अनावश्यक आवतजावत नगर्न अनुरोध गरिएको छ।
नेपाली सेनाले सम्बन्धित नगरपालिका, वडा कार्यालय, प्रहरी प्रशासन तथा स्थानीय बासिन्दालाई समयमै जानकारी गराई अभ्यास क्षेत्र नजिक मानव तथा पशुचौपायाको गतिविधि नियन्त्रण गर्न सहयोग गर्न आग्रह गरेको छ।
उक्त पत्र नं. २ विपद् व्यवस्थापन गणका एस–७ तालिम अधिकृत उपसेनानी नरेन्द्रकुमार भुषालले हस्ताक्षर गरी पठाएका हुन्। पत्रको बोधार्थ जिल्ला प्रहरी कार्यालय चितवन, कालिका नगरपालिका, वडा नं. ८ कार्यालय तथा जुटपानी प्रहरी चौकीलाई समेत पठाइएको छ। फायरिङ अभ्यास अवधिभर सुरक्षा व्यवस्थापनका लागि प्रहरी परिचालन गर्न पनि अनुरोध गरिएको पत्रमा उल्लेख छ।



