भरतपुर, १५ साउन । चितवनमा आज साँझ ४ः३० बजे बृहत् सद्भाव र्याली आयोजना गरिने भएको छ। सुनसरी घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन र तनावका गतिविधि भइरहेका बेला चितवनमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, शान्ति तथा राष्ट्रिय एकताको सन्देश प्रवाह गर्न र्याली आयोजना गर्न लागिएको हो।
जिल्ला प्रशासन कार्यालय चितवनको संयोजनमा सञ्चालन हुने र्यालीमा विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था, धार्मिक संगठन तथा सर्वसाधारणको सहभागिता रहने जनाइएको छ। आयोजक पक्षले र्यालीमा सहभागी भई सद्भाव र एकताको सन्देश फैलाउन सबैमा आग्रह गरेको छ।
यसअघि आजै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि तथा सामाजिक एवं धार्मिक संघसंस्थाका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम रहेको छ। जिल्लामा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले उक्त छलफल तथा र्याली आयोजना गरिएको प्रशासनले जनाएको छ।
यसैबीच, विश्व हिन्दु महासंघ चितवनले शुक्रबारका लागि घोषणा गरेको चितवन बन्दको कार्यक्रम यसअघि नै फिर्ता लिइसकेको छ। बन्द फिर्तासँगै जिल्लामा सद्भाव र शान्तिको वातावरण कायम राख्न सरोकारवाला निकायहरूले सक्रिय पहल गरिरहेका छन्।


