काठमाडौं, साउन ४। फिफा विश्वकप २०२६ को फाइनल खेल सञ्चालन भइरहेका बेला सोमबार बिहान नेपालका विभिन्न क्षेत्रमा केही समय विद्युत् आपूर्ति प्रभावित भएको छ। प्रतिकूल मौसमका कारण पथलैया–ढल्केबर १३२ केभी प्रसारणलाइनमा समस्या उत्पन्न भएपछि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बिहान करिब १ः५४ बजे पथलैया–ढल्केबर १३२ केभी प्रसारणलाइनअन्तर्गत पथलैया निकुञ्ज क्षेत्रमा वर्षासँगै रुख ढल्दा प्रसारण प्रणालीमा आंशिक अवरोध (पार्सियल सिस्टम आउटेज) भएको थियो। यसका कारण प्रसारण सञ्जालमा ‘रिङ ब्रेक’ भई विभिन्न क्षेत्रमा केही समय विद्युत् आपूर्ति प्रभावित भएको हो।
विश्वकप फाइनलका क्रममा उपभोक्तालाई निर्बाध विद्युत् सेवा उपलब्ध गराउने उद्देश्यले सबै सबस्टेसन, नो–लाइट सेवा र प्राविधिक टोलीलाई उच्च सतर्कतामा राखिएको प्राधिकरणले जनाएको छ। तर, लगातारको वर्षाका कारण भएको प्राकृतिक घटनाले प्रसारण प्रणालीमा समस्या उत्पन्न गरेको प्राधिकरणको भनाइ छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्राधिकरणका प्राविधिक टोली तत्काल परिचालन गरिएको र वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् आपूर्ति पुनः सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ।
विश्वकपको रोमाञ्चक फाइनल खेल हेरिरहेका बेला अचानक विद्युत् आपूर्ति अवरुद्ध भएपछि सामाजिक सञ्जालमा धेरै उपभोक्ताले नेपाल विद्युत् प्राधिकरणप्रति असन्तुष्टि र आक्रोश व्यक्त गरेका थिए।


