चितवनका दुई स्थानको पहिरो पन्छाइयो, धादिङतर्फ सडक अवरुद्ध,यातायात ठप्प

चितवन,  ४ साउन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका दुई स्थानमा खसेको पहिरो पन्छाइए पनि धादिङतर्फ सडक अवरुद्ध रहेकाले यातायात सेवा अझै सञ्चालन हुन सकेको छैन।

आइतबार बिहान इच्छाकामना गाउँपालिका–२ स्थित फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। सडक डिभिजन र सुरक्षाकर्मीको सक्रियतामा पहिरो हटाइएपछि बिहान करिब ९ः३० बजेदेखि चितवनतर्फको सडक खुलाइएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार धादिङको जवाङ खोलामा ठूलो पहिरो खसेर सडक अवरुद्ध रहेकाले दुवैतर्फको सवारी आवागमन अझै सञ्चालन हुन सकेको छैन।

उनका अनुसार चितवनबाट धादिङ हुँदै काठमाडौंतर्फ जाने सवारीसाधनलाई चुम्लिङटार, कुरिनटार र मुग्लिन क्षेत्रमा रोकिएको छ। यद्यपि, नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै पोखरातर्फ आवतजावत गर्ने सवारी भने बिहानैदेखि सञ्चालनमा रहेका छन्। पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले शनिबार रातिदेखि नै नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा रोक लगाएको थियो।

गएरातिदेखि रोकिएका सयौं सवारीसाधन अझै पूर्ण रूपमा गन्तव्यतर्फ जान नसक्दा राजमार्गका विभिन्न स्थानमा लामो सवारी जाम भएको छ। धादिङतर्फको पहिरो हटाएर सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु