काठमाडौं। इरानले प्रहार गरेका ब्यालिस्टिक मिसाइल तथा ड्रोन आक्रमणमा जोर्डनमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ भने एक सैनिक अझै बेपत्ता रहेको अमेरिकी सैन्य अधिकारीहरूले जनाएका छन्।
अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)का अनुसार आक्रमणमा घाइते भएका चार अमेरिकी सैनिकलाई उपचारका लागि जोर्डनका अस्पतालमा भर्ना गरिएको थियो। उपचारपछि उनीहरूलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। सामान्य घाइते भएका अन्य सैनिकहरू पनि पुनः आफ्नो नियमित ड्युटीमा फर्किएको सेन्टकमले जनाएको छ।
मृत्यु भएका सैनिकहरूको पहिचान, आक्रमण भएको स्थान तथा घटनासम्बन्धी अन्य विस्तृत विवरण भने अमेरिकी सैन्य अधिकारीहरूले सार्वजनिक गरेका छैनन्।
यस घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले शनिबार राति इरानका विभिन्न लक्ष्यमा पुनः हवाई हमला गरेको सेन्टकमले पुष्टि गरेको छ।
सेन्टकमद्वारा जारी विज्ञप्तिअनुसार लगातार आठौं रात गरिएको उक्त हवाई आक्रमणको मुख्य उद्देश्य होर्मुज जलघाँटीमा अन्तर्राष्ट्रिय व्यापारिक जहाजहरूको सुरक्षामा चुनौती सिर्जना गर्ने इरानको सैन्य क्षमतालाई कमजोर बनाउनु रहेको उल्लेख गरिएको छ।
साथै, अघिल्लो रात जोर्डनमा अमेरिकी सैनिकमाथि भएको आक्रमणमा संलग्न रहेको आरोप लागेका इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) सम्बद्ध शक्तिहरूलाई तत्काल जवाफस्वरूप ती हमला गरिएको सेन्टकमले जनाएको छ। यद्यपि, आक्रमणका लक्ष्य र क्षतिको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
अमेरिका र इरानबीच पछिल्लो एक सातादेखि पुनः चर्किएको तनावका बीच यो घटनाक्रम भएको हो। अमेरिकाले इरानविरुद्ध बन्दरगाह नाकाबन्दी पुनः लागू गरेको छ भने इरानले होर्मुज जलमार्ग बन्द गरेको दाबी गरिएको छ।
दुवै देशबीच भएको युद्धविराम एक महिना नपुग्दै भंग भएपछि मध्यपूर्व क्षेत्रमा सुरक्षा चुनौती र तनाव थप बढ्दै गएको छ।–00–


