जनकपुरधाम, २ साउन । सप्तरीको राजविराज कारागारमा शनिबार बिहान विवाद उत्पन्न भएपछि पाँच जना कैदीबन्दीले मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका छन्।
कारागार प्रशासनका अनुसार केही दिनदेखि कैदीबन्दीहरूबीच आन्तरिक विवाद चलिरहेको थियो। सोही विषयमा असन्तुष्टि जनाउँदै एक पक्षले आत्मदाहको प्रयास गरेको हो। राजविराज कारागारका प्रमुख रुपक मण्डलले घटनापछि सम्बन्धित पक्षबीच छलफल भइरहेको र समस्या समाधानतर्फ पहल भइरहेको जानकारी दिए। उनले विवादको कारण खुलाउन चाहेनन् तर सहमतिनजिक पुगेको बताए।
मण्डलका अनुसार आत्मदाहको प्रयास भए पनि तत्काल चिकित्सक टोली र एम्बुलेन्स तयारी अवस्थामा रहेकाले कुनै मानवीय क्षति हुन पाएन।
सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले चौकिदारमाथि सामान्य कुटपिट भएको विषयलाई लिएर विवाद उत्पन्न भएको बताए। उनले कैदीबन्दीलाई सम्झाइबुझाइ गरेपछि अवस्था नियन्त्रणमा आएको जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी थापाका अनुसार कैदीबन्दीहरूले आफूहरूसँग सम्मानजनक व्यवहार हुनुपर्ने माग राखेका छन्। विवाद चर्किने क्रममा केही कैदीबन्दीले प्रहरीतर्फ जान खोज्दै आत्मदाहको प्रयास गरेको बताइएको छ।
घटनाबारे थप छलफल र अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ।–00–

