चितवन। खगेरी खोलामा ढुंगा, गिट्टी तथा बालुवा कार्यादेशबमोजिम नै उत्खनन र ओसारपसार गरिएको उत्खननको जिम्मा पाएको किंगफिसर कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले जनाएको छ।
इच्छाकामना गाउँपालिकाबाट २०८३ वैशाख २५ गते कार्यादेश प्राप्त गरेको कम्पनीले ५१ हजार २९८.९९ घनमिटर नदीजन्य पदार्थ उत्खननका लागि आवश्यक राजस्व बुझाई गाउँपालिका र कम्पनीबीच भएको सम्झौताअनुसार संकलन, उत्खनन तथा बिक्री वितरण गरिएको दाबी गरेको छ।
कम्पनीका अध्यक्ष लालबहादुर लामाले यस वर्ष प्रतिकूल मौसम र खराब सडक अवस्थाका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको बताए। जिल्ला समन्वय समितिका प्रमुखसहितको जिल्ला अनुगमन समितिले शंकाका आधारमा उत्खनन कार्य रोक्न निर्देशन दिएको उल्लेख गर्दै उनले प्राविधिक टोलीमार्फत नापजाँच गर्न आफूहरूले आग्रह गरेको बताए।
“हामी दोषी छैनौं। कार्यादेश र कानुनी प्रक्रिया पालना गरेर नै काम गरेका छौं,” अध्यक्ष लामाले भने।

यता जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले समितिको इन्जिनियरसहितको प्राविधिक टोलीले तयार पारेको प्रतिवेदनमा नदीजन्य पदार्थको परिमाण कार्यादेशअनुसार नै देखिएको जानकारी दिए।
“प्रतिवेदनअनुसार कार्यादेशबमोजिम नै उत्खनन भएको देखिन्छ। केही स्थानमा दायाँ–बायाँ सीमामा सामान्य फरक देखिए पनि त्यो ठूलो विषय होइन,” उनले भने।
अधिकारीका अनुसार उत्खननको जिम्मा पाएको कम्पनीबाट कुनै बदमासी भएको प्राविधिकहरुको रिपोर्टले देखाएन – “कारबाही गर्ने वा नगर्ने विषयमा छलफल भइरहेको छ। उनीहरू चोर होइनन्, सम्बन्धित निकायबाट अनुमति प्राप्त गरेर नै उत्खननका लागि पठाइएको हो,” उनले थपे।
नदी उत्खननको विषयमा स्थानीय समुदायबाट दबाब बढेपछि प्रमुख जिल्ला अधिकारीसहितको जिल्ला अनुगमन समितिले स्थलगत अनुगमन गरेको अधिकारीले स्पष्ट पारे।
जिल्ला अनुगमन समितिको निर्देशन अवज्ञा गर्दै खगेरी खोलाबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खनन तथा ओसारपसारलाई निरन्तरता दिएको आरोपमा चितवन प्रहरीले शुक्रबार बिहान २० वटा टिपर नियन्त्रणमा लिएको थियो।
अनुगमनका क्रममा सम्झौताअनुसार अनुमति दिइएको परिमाणभन्दा बढी नदीजन्य पदार्थ उत्खनन गरिएको हुन सक्ने प्रारम्भिक अनुमानका आधारमा अनुगमन समितिले तत्कालका लागि उत्खनन तथा ढुवानी कार्य रोक्न निर्देशन दिएको थियो। त्यसपछि इन्जिनियरसहितको प्राविधिक टोलीले उत्खनन गरिएको क्षेत्रको नापजाँच गरेको थियो।
प्राविधिक प्रतिवेदन प्राप्त भएपछि मात्रै नदीजन्य पदार्थ उत्खननलाई निरन्तरता दिने वा नदिने विषयमा निर्णय गर्ने सहमति भएको थियो। तर निर्देशन जारी भएको भोलिपल्टै ठूलो संख्यामा टिपर प्रयोग गरी उत्खनन कार्य भइरहेको सूचना प्राप्त भएपछि टिपरलगायत खोलामा प्रयोग भएका सवारीसाधन नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।
“निर्देशन दिएपछि पनि उत्खनन कार्य नरोकिएको र झन् बढी संख्यामा सवारीसाधन परिचालन गरिएको सूचना पाएपछि आवश्यक कारबाहीस्वरूप सवारीसाधन नियन्त्रणमा लिइएको हो,” अर्यालले भने।–00—


